काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जनप्रतिनिधिहरूको प्रशिक्षण भेला बुधबारबाट काठमाडौँमा सुरु भएको छ।
नेकपा स्थानीय विभागद्वारा काठमाडौंमा आयोजित प्रशिक्षण भेलामा देशभर नेकपाले जितेका स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता छ। भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगतिको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन पेस गर्दै अहिलेसम्म भएका प्रगतिको समीक्षा, वस्तुनिष्ठ अवस्था बुझेर अघि बढ्नुपर्ने बताए।
जनप्रतिनिधिहरू जनताको सुखदु:खको प्रत्यक्ष अभिभावक भएकाले प्रत्यक्ष सेवालाई प्रभावकारी बनाउनुपर्ने उनले बताए। उनले पुराना कमी-कमजोरीलाई सच्चाइ नयाँ पुस्तालाई समेत साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए। प्रशिक्षण भेलामा बिहीबार संयोजक पुष्पकमल दाहालले सम्बोधन गरी समापन हुने नेकपाले जनाएको छ।