काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१८ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आव ०८३/८४ को बजेट महत्त्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन भए निजी क्षेत्रको मनोबल बढाउने बताए।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित पोस्ट बजेट डिस्कसनमा सोमबार उनले भने‚ “लामो समयदेखिको शिथिल अर्थतन्त्र चलायमान बनाउनेछ। मुलुकको अर्थतन्त्रलाई नयाँ आयाम दिँदै आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात विन्दुका रूपमा बजेट आएको छ।”

लामो समयदेखि नीति र नियतको दलदलमा नेपाल अल्झिएकाले आगामी आवको बजेटले आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने उनले अपेक्षा राखेका छन्। “नेपाल प्रचुर सम्भावना भएको देश हो। हाम्रो नियति भनेको हाइएस्ट पर्सेन्टेज अफ जीडीपीका रूपमा आउनुपर्ने र हरेक साउथ एसियाकै उच्च जीडीपी ग्रोथको कन्ट्रीको रुपमा हुनुपर्ने हो। तर लामो समयदेखि, अहिलेसम्म नीति र नियमको दलदलमा अल्झिएका छौँ‚” उनले भने‚ “नीति भनेको बजेट हो, र नियम भनेको सुशासन हो। नेपालको लागि नयाँ आयाम दिँदै आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात विन्दुका रूपमा बजेट प्रस्तुत गरिएको छ।”

उनले नेपालको बजेटको इतिहास चेम्बर अफ कमर्स सँगसँगै रहेको स्मरण गरे। उनले भने, “नेपाल चेम्बर अफ कमर्सको स्थापना पनि नेपालको बजेट आउनु एक वर्षअगाडि भएको थियो। ७५ वर्षको यो अवधिमा हामीले यो वर्ष हीरक जयन्ती भव्यताका साथ सम्पन्न गरिरहेका छौँ।”

उनले सरकार गठन भएको दुई महिनाको छोटो अवधिमा बजेट प्रस्तुत भएकाले यसलाई एउटा सुरुवात विन्दुका रूपमा लिएको उनको भनाइ छ। उनले भने, “आगामी पाँच वर्ष यदि यही गतिमा जाने हो भने त्यहाँ पुग्नलाई केही असहजता देखिँदैन।”

उनका अनुसार नेपाल चेम्बर अफ कमर्सले राखेका अधिकांश सुझाव सम्बोधन गरिएका छन्। उनले भने, “कर सुधारका विषयमा लामो समयदेखि रोकिएका थिए। बजेटले यसपटकको कर सुधारमा ठूलो फड्को मारेको छ। व्यक्तिगत आयकरमा ठूलो राहत दिइएको छ। वार्षिक १० लाखसम्मको आम्दानी हुनेलाई, यो कैयौँ वर्षदेखि पाँच लाख र ६ लाखको दायरामा यो कर छुट दिएर हामी अल्झिएका थियौँ। त्यसले पारदर्शी अर्थतन्त्र सुरुवात हुन सकेन। यसपटक हाम्रो मागले, सुरुवात १० लाखबाट गरौँ भन्ने थियो। त्यो बजेटमा रिफ्लेक्ट भयो।”

उनले ३६० प्रकारका वस्तुका अन्तशुल्क घटाउने व्यवस्थाको स्वागत गरे। उनका अनुसार नेपालमा अन्तशुल्कले धेरै ठूलो समस्या खडा गरेको थियो। उनले भने, “हाम्रो हार्मोनाइज्ड कोडको आठ डिजिटको छ। विश्वमा १० डिजिटको हार्मोनाइज्ड कोड छ। त्यो १० र ८ को बीचमा जुन डिफरेन्स आउँछ नि, त्यसलाई एउटा स्वेच्छाचारी ढंगले प्रयोग गरेर, भुक्तभोगी भएका धेरै व्यवसायी पीडित भएका छन्।”

त्यस्तै २७३ वटा औद्योगिक कच्चा पदार्थको भन्सारदर घटाइएको विषयमा उनले प्रशंसा गरे। उनले भने, “यो पनि नेपालको औद्योगिकीकरणका लागि एउटा राम्रो सुरुवात हो। लामो समयदेखि हामीले मागेको, भ्याटलाई सुरुवात गर्ने लक्ष्य आएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर बहुदर लगाउन सक्नेछ भन्ने जुन एउटा प्रावधान राखेको छ, त्यसले निजी क्षेत्र उत्साहित भएका छन्।”

उनले सूचना प्रविधि (आईटी) क्षेत्रलाई एउटा रणनीतिक उद्योगका रूपमा घोषणा गरिएको विषयमा प्रशंसा गरे।