काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ जेष्ठ २०८३
अ+
अ-

काबुल। अफगानिस्तानको परवान प्रान्तमा मंगलबार सवारीसाधन दुर्घटना भएको छ। दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। १६ जना सख्त घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार दुर्घटना सिनवारी जिल्लाअन्तर्गत अस्तामा क्षेत्रमा भएको हो। जहाँ यात्रु बोकेको एक सवारीसाधन पहाडी सडक हुँदै यात्रा गरिरहेका बेला चालकले नियन्त्रण गुमाएपछि चिप्लिएर गहिरो भिरमा खसेको थियो।

भीरमा खस्नेबित्तिकै सवारीसाधन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। दुर्घटनामा चार बालबालिकासहित आठ यात्रुको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले उद्धार सुरु गरेका थिए। घाइते भएका १६ जनालाई नजिकैको अस्पताल पुर्‍याइएको छ।

अस्पताल स्रोतका अनुसार धेरै घाइतेको अवस्था चिन्ताजनक छ। जसका कारण मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। प्रहरी प्रवक्ता फजुल रहिम मुस्केन्यारले प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको मुख्य कारण तीव्र गति र चालकको लापरबाहीपूर्ण व्यवहार रहेको बताएका छन्।

यस घटनाभन्दा केही दिनअघि मात्र पूर्वी लाघमान प्रान्तमा पनि दुर्घटना भएको थियो। जहाँ अत्यधिक भार बोकेको ट्रक पल्टिँदा १८ जनाको मृत्यु र ३० जना घाइते भएका थिए। यी लगातार भइरहेका दुर्घटनाले अफगानिस्तानमा कमजोर सडक पूर्वाधार‚ जोखिमपूर्ण पहाडी भूभाग, सवारीसाधनमा अत्यधिक यात्रु तथा सामान बोक्ने प्रवृत्ति, अवैध ओभरटेकिङ र तीव्र गतिका कारण सडक दुर्घटना बारम्बार हुने समस्या देखिएको छ।