तनहुँ। तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत सकिएको छ। आयोजना २०८१ साल चैत ७ गतेदेखि सुरु भएको हो।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म चार लाख २४ हजार १२० घनमिटर कङ्क्रिट गरिएको छ।
एक सय ४० मिटर उचाइको यो बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास गरिएको छ।
प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ। यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको छ। मुख्य बाँध निर्माणका लागि सुरुङलगायत अन्य संरचनाको निर्माण सम्पन्न भएको छ।
मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ। बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न भएको छ।