काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। काठमाडौँमा बिहीबार पत्रकार सम्मेलनमार्फत उनले नयाँ पार्टी स्थापना गर्न लागेको सार्वजनिक गरे।
यसअघि राणाले यसै साता एक विज्ञप्ति जारी गर्दै राप्रपा परित्याग गरेको घोषणा गरेका थिए। पार्टी छाडेसँगै उनी नयाँ राजनीतिक अभियानमा सक्रिय भएका हुन्।
राणासँगै राप्रपाका केही नेता तथा कार्यकर्ताले पनि पार्टी त्याग गरी उनको नयाँ अभियानमा सहभागी भएको जनाइएको छ। नयाँ पार्टीको नाम, संरचना र आगामी कार्यदिशाबारे भने विस्तृत सार्वजनिक गरिएको छैन।
राप्रपा परित्याग गरेको औपचारिक घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गर्ने उनको भनाइ छ। उनले समयको पदचाप र जनभावनाअनुरूप, विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणको अभियान शुभारम्भका लागि राजनीतिक दल नै गठन गरेर अघि बढ्ने बताए। संस्थापनले नेता, कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्ने गरी लखेटिरहने, कारबाही गरिरहने, अन्यायविरुद्ध बचाउमा लागिरहनुपर्ने मात्रै काम पछिल्लो चार वर्षमा भएको उनले बताए। उनले निजी स्वार्थमा संस्थापनबाटै स्वःपक्षीय गुट बनाइएको र वैचारिक आदर्शसँग धोका र खेलबाड प्रतिबिम्ब भएको आरोप लगाए।
राणाले देशविदेशमा रहेका नेपालीले विश्वसनीय राष्ट्रवादी शक्तिको रिक्तता पूर्ति गर्न सल्लाह दिएकाले जनस्तरबाट प्राप्त सद्भाव र विश्वासलाई आत्मसात् गर्दै समयको माग र राष्ट्रको आवश्यकताअनुरूप एक कर्मनिष्ठ राष्ट्रवादी राजनीतिक दलको नवनिर्माणको प्रक्रियाको थालनी भएको उल्लेख गरे।
संवैधानिक राजसंस्थात्मक जनप्रतिनिधिमूलक आधुनिक प्रजातान्त्रिक राज्यप्रणाली तथा हिन्दु, बौद्ध, किरातसहितको सनातनी पहिचान अब बन्ने पार्टीको आधारशीला रहने उनले जानकारी दिए।

उनले युवा र महिलालाई केन्द्रीय कार्यसमितिलगायत समितिहरूमा ६० प्रतिशत भूमिका सुनिश्चित गर्दै अग्रजहरूलाई सल्लाहकार एवं प्रबुद्ध वर्गको सम्मानमा राख्ने बताए। युवा र महिलाहरू जिल्लास्तरबाट समेत केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने संरचना रहने उनको भनाइ छ। नयाँ पार्टीमा दुर्गा प्रसाईको अभियानलगायत अन्य शक्ति पनि एकताबद्ध हुने उनको भनाइ छ।
