काठमाडौँ। प्रहरीले लागुऔषध ब्राउनसुगरसहित १० जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ब्राउनसुगरसहित कारोबारमा संलग्नलाई पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१६ का ३० वर्षीय आयुष श्रेष्ठ, ४० वर्षीय शनी श्रेष्ठ, ३५ वर्षीया किभा श्रेष्ठ, काठमाडौँ-१९ का ३७ वर्षीय सुरेश शाही खड्गी, भक्तपुर ठिमी नगरपालिका-२ का ३५ वर्षीय भगवान थापामगर रहेका छन्।
यस्तै, अन्य पक्राउ पर्नेमा बारा सिम्रौनग नगरपालिका-८ का २३ वर्षीय निराजन कुमार, सोही नगरपालिका-८ का २४ वर्षीय कैमुलाल खान, रौतहट बोधिमाई नगरपालिका-९ की १९ वर्षीय सेजल जैसवाल, दोलखा कालिन्चोक नगरपालिका-७ का २१ वर्षीय सागर शिवाकोटी र सिरहा कर्जन्हा नगरपालिका-९ का २० वर्षीय चेतनारायण ठाकुर रहेका छन्।
लागुऔषधविरूद्धको कारबाही सिलसिलामा पक्राउ परेका उनीहरूको साथबाट ३०० ग्राम ब्राउनसुगर फेला परेको प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए। पक्राउ परेकालाई हिरासतमा राखी लागुऔषध मुद्दामा अनुसन्धान थालिएको छ।