किमाथांका। मकालु गाउँपालिका-३ हेदाङ्नामा भन्सार छली ल्याएको पाँच लाख ५० हजार रुपैयाँ मूल्य बराबरको ३६८ वटा चौँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यायल सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथांका नाकाबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए।
इलाका प्रहरी कार्यालय हेदाङ्नागढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथांका सडकखण्डको हेदाङ्ना चेकपोष्टमा भोटखोला गाउँपालिकाको हुङ्गुङबाट खाँदबारीतर्फ आउँदै गरेको १-०२-००३ त १२१७ नम्बर ट्याक्टर जाँच गर्ने क्रममा अवैध चौँरीको पुच्छर फेला परेको हो।
घटनामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक चिचिला गाउँपालिका १ निवासी २० वर्षीय दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएको अवैध चौँरीको पुच्छर किमाथांका भन्सार कार्यालय खाँदबारीमा बुझाइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हेदाङ्नाको गस्ती टोलीले चौँरीको पुच्छर र ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।