काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिएका छन् । उनले अमेरिका बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने दाबी गर्दै ईरानको अधिकांश सैन्य शक्ति पहिले नै कमजोर भइसकेको बताएका छन् ।
ट्रम्पका अनुसार आगामी दिनमा अमेरिका ईरानको सबैभन्दा ठूलो तेल निर्यात केन्द्र खार्ग आइल्यान्डसहित अन्य महत्वपूर्ण तेल तथा ग्यास संरचनामाथि पनि नियन्त्रण कायम गर्ने योजना बनाइरहेको छ । खार्ग आइल्यान्डलाई ईरानको प्रमुख तेल निर्यात केन्द्रका रूपमा लिइन्छ ।
यसैबीच, ओमान नजिकै भारतीय नाविकहरू सवार जहाजमाथि अमेरिकी आक्रमण भएको विषयमा भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले अमेरिकी नौसेनाले भारतीय चालकदल रहेको तेस्रो जहाज ःजलवीरमाथि पनि आक्रमण गरेको जनाएको छ ।
उक्त जहाजमा रहेका सबै २० जना भारतीय नागरिक सुरक्षित रहेको र उनीहरूलाई उद्धार गर्ने प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।
भारतले यस घटनापछि अमेरिकी राजदूतलाई तलब गरी कडा विरोध जनाएको छ र जहाजमाथि हुने यस्ता आक्रमण तत्काल रोक्नुपर्ने माग गरेको छ ।