काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

१ असार २०८३
अ+
अ-

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय (एमयू) को चौथो दीक्षान्त समारोह ३ असारमा हुने भएको छ।

विश्वविद्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत चौथो दीक्षान्त समारोह, १८औँ विश्वविद्यालय सभा र १६औँ वार्षिकोत्सव एकै दिन आयोजना गर्न लागिएको जानकारी दिएको छ।

चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालय सभा २०८३ को सञ्चार तथा प्रचार उपसमिति संयोजक विष्णुकुमार खड्काले समारोहमा ग्रेसलिस्टमा रहेका एक हजार ९२८ विद्यार्थी दीक्षित हुन लागेको जानकारी दिए। उनका अनुसार कुल विद्यार्थीमध्ये ४५५ विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन्। तीमध्ये ४२८ जनाले आफ्ना अभिभावकसहित उपस्थित हुने गरी आवेदन दिएको खड्काले बताए।

ग्राजुएट स्कुलअन्तर्गत विभिन्न तहको शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीलाई दीक्षित गर्ने गरी तय भएको चौथो दीक्षान्त समारोहको अध्यक्षता शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नेछन्। समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहने खड्काले जानकारी दिए।

“दीक्षान्त समारोहमा ८ जेठ २०८३ सम्म ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका ग्रेसलिस्टमा समाविष्ट विद्यार्थीमध्येबाट स्नातक तहमा सर्वोत्कृष्ट भएका एकजनाले कुलपति पदक प्राप्त गर्नेछन्‚” खड्काले भने। यस्तै स्नातक तहमा सर्वोत्कृष्ट भएका एकजनाले उपकुलपति पदक, सबै ग्राजुएट स्कुलबाट स्नातकोत्तर तहका लागि डिन लिस्टमा परेका पाँच र स्नातक तहबाट तीन विद्यार्थी गरी १४ जनाले प्रमाणपत्रसहित पदक प्राप्त गर्ने उनले बताए। संयोजक खड्काका अनुसार चौथो दीक्षान्त समारोहसम्म आइपुग्दा ६ हजार ३७० विद्यार्थी दीक्षित भइसकेका छन्। चौथो दीक्षान्त समारोहबाट दीक्षित हुने विद्यार्थीको संख्या जोड्दा विश्वविद्यालय स्थापना भएको झन्डै १६ वर्षमा आठ हजार २९८ विद्यार्थी दीक्षित भएका छन्।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक नारायणप्रसाद पौडेलले दीक्षान्त समारोहसँगै आयोजना हुने १८औँ विश्वविद्यालय सभामा चालु आवको आम्दानी र खर्चको जानकारी गराइनेछ। विश्वविद्यालयको आगामी आव ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट स्वीकृतिको प्रस्तावसमेत सभामा प्रस्तुत गरिनेछ।

पौडेलले आगामी आवका लागि एक अर्ब ४९ करोड रुपैयाँबराबरको बजेट प्रस्ताव गरिएको बताए। उनका अनुसार सभाले दीक्षित हुने विद्यार्थीको ग्रेसलिस्ट पास गर्नेछ।