स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिबाट अलग हुने पूर्वसभामुख कृष्णबहादुर महराको घोषणा
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत बिहीबार वक्तव्य जारी गर्दै उनले लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै विभिन्न चरण, उतारचढाव र संघर्षमा सहभागिता जनाएको उल्लेख गरेका छन्।
महराले नेकपाको चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी) हुँदै हालको नेकपा सम्मको यात्रामा आफ्नो योगदान रहेको स्मरण गरेका छन्। उनले पार्टी, आन्दोलन र देशप्रति आफ्नो समय, क्षमता र जीवनको महत्वपूर्ण हिस्सा समर्पित गरेको पनि बताएका छन्।
तर पछिल्ला केही वर्षयता आफू एट्रोफीसम्बन्धी रोगबाट पीडित रहेको उल्लेख गर्दै उनले नियमित उपचार, थेरापी र औषधि सेवन गर्दा पनि अपेक्षित सुधार हुन नसकेको जनाएका छन्। स्वास्थ्य अवस्थाका कारण सक्रिय र प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न कठिन भएको उनको भनाइ छ।
यसै सन्दर्भमा उनले आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको बताएका छन्। उनले यो निर्णय कुनै असन्तुष्टि वा वैचारिक मतभेदका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थिति भएको स्पष्ट पारेका छन्। “उमेरको ७०औँ वर्षमा प्रवेश गर्दै गर्दा, लामो समयदेखि स्वास्थ्यमा देखिएको अस्वस्थताका कारण सक्रिय राजनीतिबाट बिदा हुने निर्णय गरेको छु‚” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
महराले पार्टीभित्रको अन्तर्संघर्ष, नेतृत्व निर्माण र राष्ट्रिय स्वाधीनताको सवालमा आफू सधैँ प्रतिबद्ध रहने उल्लेख गरेका छन्। साथै देश र जनताप्रतिको माया र समर्पण अन्तिम श्वाससम्म कायम रहने पनि उनले बताएका छन्।
उनले नयाँ पुस्ताका युवाले देशलाई समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै उनीहरूको सफलतामा आफूहरूको संघर्ष र योगदानको सार्थकता रहने बताए। वक्तव्यको अन्त्यमा उनले आफ्नो लामो राजनीतिक यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति आभार व्यक्त गरेका छन्।