काठमाडौँ। सरकारले सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेना प्रयोग नगरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्टीकरण दिएका छन्।
सुकुम्बासी बस्तीमा सेना खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रस्टीकरण दिएका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्रीले यस्तो बताएका हुन्।
छलफलका क्रममा प्रधानमन्त्रीसमक्ष सांसदहरूले सुकुम्बासी बस्ती हटाउने क्रममा किन नेपाली सेनाको प्रयोग गरिएको हो भन्ने प्रश्नको जवाफमा उनले यसबारे स्पष्टीकरण दिएका हुन्। जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको उनको भनाइ छ।
त्यस अवसरमा अर्थमन्त्री वाग्लेले मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशनबमोजिम मुलुकका सबै भू-भागमा आवश्यकताअनुसार नेपाली सेनालगायत अन्य सुरक्षा निकायको उपस्थिति हुने गरेको पनि स्पष्ट गरे।