विराटनगर। कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा बिहिबार राति प्रहरी टोली पुगेको घटनाले विवाद निम्त्याएको छ।
मन्त्रीको सचिवालयले निवासमा छापा मारिएको दाबी गरेको छ भने प्रहरी र स्थानीय प्रशासनले फरार अभियुक्तको खोजीका क्रममा टोली उक्त क्षेत्रमा पुगेको बताएका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मन्त्रीको आवासलाई लक्षित गरेर प्रहरी परिचालन नगरिएको बताए। उनका अनुसार ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका एक फरार अभियुक्त उक्त क्षेत्रमा लुकेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
“फरार अभियुक्त त्यहाँ लुकेको छ भन्ने सूचनाका आधारमा प्रहरी गएको रहेछ,” कट्टेलले भने,“मन्त्रीको क्वाटर भनेर नभई शंकास्पद व्यक्ति त्यहाँ बसेको हुन सक्ने जानकारीका आधारमा खोजी गरिएको हो। तर, यस क्रममा सञ्चार र समन्वयमा केही कमजोरी देखियो।”
मन्त्रीका प्रमुख स्वकीय सचिव केदार दाहालले भने घटना हुँदा मन्त्री पराजुली विपद् सम्बन्धी कार्यक्रममा सहभागी हुन धनकुटामा रहेको बताए। स्थानीय बासिन्दाले राति फोन गरेर जानकारी गराएपछि मात्र सचिवालयले घटनाबारे थाहा पाएको उनको भनाइ छ। “स्थानीयले तपाईंहरूको घरमा प्रहरीले छापा मारिरहेको छ भनेर जानकारी गराउनुभयो,” दाहालले भने, ‘पछि प्रहरीसँग बुझ्दा फरार अपराधी यहाँ बस्छ भन्ने सूचनाका आधारमा टोली पुगेको जानकारी दिइयो।’ उनले गलत सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको दाबी गरे।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले भने मन्त्री निवासमा छापा मारिएको भन्ने आरोप अस्वीकार गरे। उनका अनुसार ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी विमल भट्टराई पुष्पलाल चोक आसपास लुकेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
“खोजीका क्रममा टोली मन्त्रीज्यूको घर नजिकै पुगेको मात्र हो”, कटुवालले भने, “मन्त्रीज्यूको घरमा छापा मार्ने वा खानतलासी गर्ने काम भएको छैन। यो विषयलाई अनावश्यक रूपमा बढाइयो।”
उनले मन्त्री पराजुलीसँग प्रहरीको कुनै पूर्वाग्रह वा दुश्मनी नरहेको पनि बताए।“प्रहरी अपराधीको खोजीमा उक्त क्षेत्रमा गएको हो, मन्त्रीज्यूको आवास लक्षित गरेर कुनै कारबाही गरिएको होइन,”उनले भने।