काठमाडौँ। मदन भण्डारी मेमोरियल कलेजले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा साताव्यापी विविध शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमसहित ‘रजत जयन्ती’ मनाउने भएको छ।
कलेजले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रजत जयन्तीका अवसरमा ८ देखि १४ असारसम्म विभिन्न कार्यक्रमको आयोजना तय गरेको छ।
पत्रकार सम्मेलनमा कलेजका प्रमुख बाबुराम अधिकारीले रजत वर्षका कार्यक्रमहरू पनि विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक क्षमता विकासमा केन्द्रित रहेको बताए। त्यस्तै पेसा परामर्श, रोजगारी अवसरसम्बन्धी कार्यक्रम, उद्यमशीलता विषयक रेडियो संवाद तथा खाद्य महोत्सव आयोजना, समसामयिक विषयमा नीति संवाद, साइबर सुरक्षा, डिजिटल साक्षरता तथा लैंगिक हिंसासम्बन्धी कार्यशाला आयोजना गरिएको उनले बताए।
पत्रकार सम्मेलनमा कलेज व्यवस्थापन समिति अध्यक्ष महेन्द्रबहादुर पाण्डेले अहिलेको शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित हुन नहुने भन्दै समाजमा योगदान दिन सक्ने गरी व्यवहारिक ज्ञान प्रदान गर्नुपर्ने बताए।
सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिक सम्मान तथा अन्य सामुदायिक कार्यक्रम पनि आयोजना गरी १४ असारमा रजत जयन्ती कार्यक्रम समापन हुने कलेजले जनाएको छ।