काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
अ+
अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको थियो। उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, आपसी समझदारी, विकास सहयोग तथा गहिरो जनस्तरीय सम्बन्धका आधारमा नेपाल-अमेरिकाबीचको सम्बन्ध घनिष्ठ, सौहार्दपूर्ण र सहयोगात्मक रहँदै आएको बताए।

लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताका साझा मूल्यहरूको सम्मान गर्दै नेपालले अमेरिकासँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व प्रदान गर्दै आएको उनले उल्लेख गरे। उनले नेपालको सामाजिक-आर्थिक विकासमा अमेरिकाले दशकौँदेखि पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वार्षिकोत्सव दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिबिम्बित गर्ने एक महत्त्वपूर्ण कोसेढुंगाको रूपमा रहने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा अमेरिकाले नेपालको विकासमा निरन्तर बहुमूल्य समर्थन र सहयोग जारी राख्ने विश्वास पनि आफूले लिएको बताए। उपराष्ट्रपति यादवले अमेरिकाको स्वतन्त्रता घोषणापत्रको २५०औँ वार्षिकोत्सवका अवसरमा अमेरिकी सरकार र जनताप्रति बधाई तथा शुभकामना व्यक्त गरे।

भेटका अवसरमा नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल र अमेरिकाबीचको सम्बन्ध दीर्घकालीन, ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गरे। उनले यसलाई अझ उच्च स्तरमा पुयाउन अमेरिका इच्छुक रहेको पनि बताए।

उनले नेपालप्रति अमेरिकाको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाउँदै नेपालमा सञ्चालन भइरहेका अमेरिकी परियोजना सहज र प्रभावकारी रूपमा अगाडि बढिरहेकामा सन्तोष व्यक्त गरेको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ।