काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
तस्बिरहरू : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएको सुकुम्बासीहरूले उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्ने चेतावनी दिएका छन्।

उनीहरूलाई भोलि (शुक्रबार) सम्म होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरिएपछि सरकारलाई पुरानै ठाउँमा आफूहरू फर्किने भन्दै चेतावनी दिएका हुन्। राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बागमती सभ्यता एकीकृत विकास समितिले त्यहाँ रहेका मानिसहरूलाई बैंक खाताको विवरणसमेत माग गरेको छ।

सरकारले दिने भनेको २५ हजार रुपैयाँ भुक्तानीका लागि बैंक विवरण मागिएको हो। सरकारले व्यवस्थित बसोबासमा राख्न नसक्ने भएर हटाउन बैंक विवरण मागेको सुकुम्बासीहरूको बुझाइ छ। अहिले यो होल्डिङ सेन्टरभित्र तस्बिर र भिडियो खिच्न रोक लगाएको छ।

सरकारले पाँच दिनभित्र २५ हजार रुपैयाँ लिएर आफैँ व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न बाध्यकारी दबाब दिएपछि उनीहरू आक्रोशित बनेका हुन्। सुकुम्बासीहरूले सरकारको यो शैलीमा असन्तुष्टि जनाउँदै कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँसेका छन्।

उनीहरूले स्थायी विकल्प र बस्ने ठाउँ नदेखाइ जबरजस्ती निकालिए आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका हुन्।

सुकुम्बासीका माग :
१. भूमि समस्या समाधान समिति गठन भइसकेकाले स्थानीय सरकारमार्फत उठिबास गराइएका परिवारको तत्काल लगत संकलन, प्रमाणीकरण र पहिचान गरियोस्।
२. जबरजस्ती उठिबास गराइएका परिवारलाई पहिलो प्राथमिकतामा राखी समस्या समाधान गरियोस्।
३. स्थायी व्यवस्थापन नहुन्जेलसम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा-सुविधा दिइयोस् वा जाने सुरक्षित ठाउँ देखाइयोस्।
४. सरकारी नीति र कार्यक्रममा उल्लेख भएबमोजिम सुकुम्बासी तथा अव्यवस्थित बसोबासीकेन्द्रित उपयुक्त र उचित स्थायी व्यवस्थापन गरियोस्।
५. अन्यथा स्थायी विकल्पबिना निकाल्न खोजिएमा पहिलेकै बसोबास स्थलमा फर्केर बस्न बाध्य हुनेछौँ।