१३ असार २०८३
अ+
अ-

काठमाडौँ। फिफा विश्वकपमा पहिलोपटक सहभागिता जनाउँदै केप भर्डेले इतिहास रचेको छ। समूह ‘एच’ मा अपराजित रहँदै केप भर्डे उपविजेताका रूपमा राउन्ड अफ ३२ (नकआउट चरण) मा प्रवेश गरेको हो।

समूहको अन्तिम खेलमा शनिबार साउदी अरेबियासँग बराबरी खेलेपछि केप भर्डेले एक अंक थप्दै कुल तीन अंक बटुल्यो। यसअघि उसले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो।

अर्को खेलमा स्पेनले उरुग्वेलाई १-० ले पराजित गर्दै सात अंकसहित समूह विजेता बन्यो। दुई पटकको विश्वविजेता उरुग्वे भने समूह चरणबाटै बाहिरिन बाध्य भयो।

यस विश्वकपमा डेब्यु गरेका चार टोलीमध्ये केप भर्डे मात्रै नकआउट चरणमा पुग्न सफल भएको छ। कुरासाओ र जोर्डन समूह चरणबाट बाहिरिसकेका छन् भने उज्बेकिस्तानको सम्भावना निकै कमजोर बनेको छ।

अब राउन्ड अफ ३२ मा केप भर्डेको सामना साविक विश्वविजेता अर्जेन्टिनासँग हुनेछ।