काठमाडौँ। काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदा क्षेत्रको सौन्दर्य अभिवृद्धि तथा मौलिक पहिचान संरक्षण गर्ने उद्देश्यले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान गरेको छ।
नयाँ सडक क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक स्वरूपलाई थप उजागर गर्दै रातिको समयमा पैदलयात्री तथा सर्वसाधारणका लागि सुरक्षित, सहज र व्यवस्थित आवागमन सुनिश्चित गर्ने लक्ष्यका साथ यी सडकबत्ती जडान गरिएको महानगरले जनाएको छ।
साँझ परेपछि बल्ने परम्परागत शैलीका सडकबत्तीले इन्द्रचोकदेखि विशाल बजारसम्मको व्यापारिक तथा पर्यटकीय क्षेत्रलाई आकर्षक र मनमोहक बनाएको छ। उज्यालोले सम्पदा क्षेत्रको सौन्दर्यलाई अझ निखार दिएको स्थानीयवासी बताउँछन्।
सडकबत्ती जडानपछि स्थानीय व्यवसायी, सर्वसाधारण तथा आन्तरिक एवं बाह्य पर्यटकहरूले नयाँ सडक क्षेत्रको बदलिएको स्वरूपप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। महानगरको यो पहलले सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धन र शहरी सौन्दर्य अभिवृद्धिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।