वाशिङटन। अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति भएको छ र मध्यपूर्व युद्ध अन्त्य गर्नका लागि वार्तालाई जारी गर्ने एक अमेरिकी अधिकारीले आइतबार राति जानकारी दिएका छन्।
१७ जुनमा भएको संवेदनशील समझदारीपत्र को बाबजुद पछिल्ला दिनमा अमेरिकी र इरानी सेनाले एकअर्कामाथि आक्रमण गरेका थिए।
फेब्रुअरीको अन्त्यतिर सुरु भएको यो द्वन्द्वले महत्वपूर्ण हर्मुज जलडमरुमा ढुवानीलाई प्रभावित गरेको थियो। त्यस समझदारीअनुसार तेहरानले व्यावसायिक जहाजहरूलाई जलडमरुबाट सुरक्षित आवतजावत गर्न दिने प्रतिबद्धता जनाएको थियो भने वाशिङटनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति गरेको थियो। “समझदारीका सबै क्षेत्रमा प्राविधिक वार्ता जारी रहनेछ”, एक अमेरिकी अधिकारीले भने, “दुवै पक्षले अहिलेका लागि हमला रोकेका छन् र जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन्।” अधिकारीले वार्ता कहिले र कहाँ हुने भन्ने विवरण दिएनन्। तर दुई अमेरिकी अधिकारी र एक जानकार स्रोतले अमेरिकी सञ्चारमाध्यम एक्सिओसलाई बताएअनुसार वार्ता मंगलबार कतारमा पुनः सुरु हुनेछ।
सीएनएनले पनि ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै यस्तै कुरा रिपोर्ट गरेको छ। दुवै पक्षले ‘अहिलेका लागि हमला रोक्ने’ र मंगलबार दोहामा थप वार्ता गर्ने सहमति गरेको उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी हमला जारी रहेमा सैन्य कारबाही गर्ने पुरानो चेतावनीलाई पुनः दोहोर्याएका छन्।
शनिबार उनले अमेरिका ‘बाध्य’ भएर युद्ध पुनः सुरु गर्नुपरेमा इरान अब ‘अस्तित्वमा रहने छैन’ भनेका थिए।
पाकिस्तानले मध्यस्थता गरेको र युद्ध अन्त्य गर्ने समझदारीमा हस्ताक्षर भएपछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम सहमतिलाई उल्लंघन गरेको आरोप लगाउँदै बदलामा आक्रमण गरेका थिए।
आइतबार बिहान भएको पछिल्लो झडपमा अमेरिकी सेनाले ‘व्यावसायिक जहाजमाथि इरानी आक्रमण जारी रहेको’ भन्दै १० इरानी सैन्य लक्ष्यमा आक्रमण गरेको बताएको थियो भने इरानले पनि कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य शिविरमाथि आक्रमण गरेको थियो।