काठमाडौँ। अनलाइन माध्यमबाट हुने ठगी रोक्न कडा कानुन बनाउनुपर्ने र तथ्यमा आधारित अनुसन्धान गर्नुपर्ने भन्दै काठमाडौँको भोटाहिटीमा रहेको साइबर ब्युरोअगाडि प्रदर्शन गरिएको छ।
पछिल्ला केही समययता सामाजिक सञ्जालमा शंकास्पद अनलाइन आम्दानी तथा लगानीसम्बन्धी सामग्री आक्रामक रूपमा प्रचार भइरहेको र यसबाट हुने सम्भावित जोखिमप्रति सचेतना बढाउन र डिजिटल माध्यमबाट हुने ठगीलाई रोक्न कडा कानुन बनाउनुपर्ने भन्दै नागरिक अभियन्ता आरब्ध तिमिल्सिनाले साइबर ब्युरोअगाडि प्लेकार्ड प्रदर्शन गरेका हुन्।
उनले ‘आज म एक्लै उभिएको छु, ताकि भोलि अर्को नेपाली एक्लै रुन नपरोस्।’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन्। उनले आफ्नो उद्देश्य कुनै व्यक्ति वा संस्थालाई अनुसन्धान र कानुनी प्रक्रियाविना दोषी ठहर गर्नु नभई सम्भावित जोखिमप्रति सचेतना बढाउनु, तथ्यमा आधारित अनुसन्धान र नागरिक सुरक्षाको पक्षमा आवाज उठाउनु भएको बताए।
अभियन्ता तिमिल्सिनाले अनलाइन ठगीलाई निरुत्साहित गर्न साइबर कानुन बलियो हुनुपर्ने उल्लेख गरे। त्यस्तै अनलाइन ठगीबाट बच्न स्वयं नागरिक पनि सचेत हुनुपर्ने उनको भनाइ छ।