काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्वमा बसेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको बताएका छन्।
काठमाडौँमा सोमबार आयोजित झलनाथ खनालको पुस्तक विमोचन कार्यक्रममा उनले अहिले कम्युनिस्ट आन्दोलन कमजोर र लोकप्रियतावाद हावी हुनुमा स्वयं कम्युनिस्ट नेतृत्वमा रहेका व्यक्तिहरू नै जिम्मेवार रहेको बताए।
कम्युनिस्ट पार्टीले गरेका खुला ऐतिहासिक क्रान्ति, आन्दोलन, युद्धहरू नेपालको सामाजिक आर्थिक रूपान्तरणका लागि महत्त्वपूर्ण ऐतिहासिक परिघटना भएकै कारण जनताले अवसर दिएको उनको भनाइ छ। उनले जनताले दिएको अवसरको दुरुपयोग भएका कारण अहिलेको अवस्था आएको धारणा राखे।
शर्माले कम्युनिस्ट विचारका नाममा लिइरहेका शब्द र त्यसको वास्तविक अर्थ त्यसको जनतासँग, जीवनसँग जोड्ने कुरामा असफल भएको जिकिर गरे।
शर्माले नयाँ पुस्ताको नेतृत्वमा मुलुकको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन जरुरी रहेको धारणा राखे। वर्गीय, जातीय, क्षेत्रीय सबै विभेद अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाजको जग हालेर त्यसबाट क्रमशः अगाडि बढ्दै समाजवादी बाटोमा वैज्ञानिक समाजवादी बाटोमा जान सकिने उनले बताए।