काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
अ+
अ-

बागलुङ। मध्य असारसम्म पनि पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित भएको छ। अघिल्लो वर्ष यतिबेला ६० प्रतिशत रोपाइँ सकिएको थियो भने यस वर्ष मध्य असारसम्म ३८ प्रतिशत मात्रै रोपाइँ भएको छ।

पश्चिम बागलुङका केही क्षेत्रमा रोपाइँ भए पनि जिल्ला सदरमुकाम आसपासका अधिकांश खेत अझै सुक्खा छन्। जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख कुमार पुनमगरका अनुसार यसबेलासम्म आधाभन्दा बढी क्षेत्रमा रोपाइँ सकिनुपर्नेमा पर्याप्त वर्षा नभएकाले ३८ प्रतिशत क्षेत्रमा मात्रै धान रोपिएको हो।

कुल पाँच हजार ७१० हेक्टर क्षेत्रफलमा धानखेती हुने बागलुङमा मध्य असारसम्म दुई हजार १७० हेक्टरमा मात्रै रोपाइँ भएको प्रमुख पुनमगरले जानकारी दिए। अहिलेसम्म खोला तथा सिँचाइको सुविधा भएका क्षेत्रका खेतमा मात्रै रोपाइँ भएको उनले बताए।

‘अहिलेसम्म आधाभन्दा बढी क्षेत्रमा धान लगाइसक्नुपर्ने हो, तर वर्षा नहुँदा पानीका मुहान फुटेका छैनन्। खोलानालामा पनि पानी निकै कम भएकाले सिँचाइको व्यवस्थापन राम्रो छैन’, प्रमुख पुनमगरले भने, ‘खोल्सा, खोला तथा सिँचाइको नियमित सुविधा भएका क्षेत्रका खेतमा मात्रै रोपाइँ भएको छ। अन्य ठाउँमा भने रोपाइँ हुन सकेको छैन।’

निसीखोला, गलकोट र ढोरपाटनका केही क्षेत्रमा रोपाइँ भए पनि बागलुङ नगरपालिका, बडिगाड, जैमिनी र बरेङलगायत क्षेत्रमा रोपाइँको कुनै सुरसार छैन। निसीखोला गाउँपालिका–४ का किसान तुलप्रसाद पौडेलले जेठको अन्तिम साता रोपाइँ गरेको भए पनि वर्षा नहुँदा रोपेको धानको गाभा सुक्न थालेको बताए।

तीन–चार महिनादेखि पर्याप्त वर्षा नहुँदा धानसँगै बारीमा लगाएको मकैसमेत सुक्ने अवस्थामा पुगेको उनको भनाइ छ। उनले भने, ‘यो आकाशले के गरेको होला ? यति धेरै समय बितिसक्यो, अहिलेसम्म पानी पर्दैन। सुरुमै रोपाइँ गरियो, अहिले धानका बिरुवा मरेर खेत खाली हुन थाले। वर्षा हुन्छ कि भनेर रोपाइँ गरेका थियौँ, तर अहिलेसम्म एक थोपा पानी परेको छैन।’

लामो खडेरीका कारण ब्याडमा राखिएको धानको बीउसमेत मर्ने अवस्थामा पुगेको बडिगाड गाउँपालिका–५ का पुस्कर घिमिरेले बताए। वर्षा नहुँदा खोलानालामा पानीको मात्रा निकै कम भएकाले रोपाइँ गर्न समस्या भएको उनको भनाइ छ।

राम्रो वर्षा नभएसम्म रोपाइँ गर्न नसकिने घिमिरेले बताए। बागलुङमा वार्षिक २० हजार ६०० मेट्रिकटन धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।