इन्धन अभाव
पेट्रोलियम पदार्थको बिक्री पहिलेकै अवस्थामा फर्कियो
काठमाडौँ। काठमाडौँका आठ र पोखराका ६ गरी १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खुलेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै बजारमा देखिएको इन्धन आपूर्ति सम्बन्धी समस्या समाधान भएसँगै ती पम्पहरू पुनः सञ्चालनमा आएका हुन्।
मूल्य घटेलगत्तै देशभरका विभिन्न पेट्रोल पम्पले उपभोक्तालाई तेल वितरण नगरेको र कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आयल निगमलाई तत्काल बजार अनुगमन गर्न निर्देशन दिएकी थिइन्। निर्देशनलगत्तै निगमको टोलीले काठमाडौँ र पोखराका विभिन्न पम्पमा आकस्मिक अनुगमन गरेको थियो।
अनुगमनका क्रममा पम्पले तेल नभएको भन्दै वितरण ठप्प पारेको थियो। ती १४ पम्पमा निगमले तत्कालका लागि तालाबन्दी गरेको थियो।
पम्प सञ्चालकहरूले आफ्नो पम्पमा तेल नै नभएको जानकारी गराएपछि निगमले पनि जाँच गरेको र तेल नभेटिएको पाइएपछि पुनः इन्धन उपलब्ध गराएसँगै बन्द गरिएका सबै पम्पमा लगाइएको ताला खोलिएको हो। नेपाल आयल निगमका अनुसार अहिले बजारमा इन्धनको कुनै अभाव छैन। सबै पेट्रोल पम्पहरूबाट पहिलेकै अवस्थामा सहज रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ।
