बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारविरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले ताइवानलाई चीनसँग एकीकरण गर्ने लक्ष्य पनि पुनः दोहोर्याउँदै बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरे।
चिनियाँ कम्युनिस्ट पार्टीको १०५औँ स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रममा राजनीतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताए।
उनले बलियो सेना राष्ट्रिय सुरक्षाको आधार भएको उल्लेख गर्दै रक्षा क्षमता थप सुदृढ बनाइने धारणा राखे। सीले पार्टीले भ्रष्टाचारविरुद्धको दीर्घकालीन र व्यापक अभियानलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए।
उनको नेतृत्वमा सञ्चालित भ्रष्टाचारविरोधी अभियानका क्रममा पछिल्ला तीन वर्षमा दुई जना रक्षामन्त्री पदमुक्त भएका छन् भने चीनको सर्वोच्च सैन्य निकाय केन्द्रीय सैन्य आयोगमा पनि व्यापक फेरबदल भएको छ।
यही अभियानका कारण चिनियाँ सेनाको युद्ध क्षमता र नेतृत्व संरचनामाथि विश्लेषकहरूले प्रश्नसमेत उठाउँदै आएका छन्।
यसअघि मे महिनामा केन्द्रीय सैन्य आयोगले वरिष्ठ सैन्य अधिकारीमाथि कडा शिक्षा, व्यवस्थापन र निगरानी लागू गर्ने नयाँ व्यवस्था सार्वजनिक गरेको थियो। यसको उद्देश्य सेनाभित्र अनुशासन र पारदर्शिता सुदृढ गर्नु रहेको बताइएको छ।
सम्बोधनका क्रममा सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको दोहोर्याउँदै ताइवानसँगको पूर्ण एकीकरण चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक लक्ष्य र सम्पूर्ण चिनियाँ जनताको साझा आकांक्षा भएको बताए।
कुनै देशको नाम उल्लेख नगरी उहाँले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न पनि आह्वान गरे।
सन् १९२१ जुलाई १ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीको सन् २०२५ को अन्त्यसम्म १० करोड १० लाखभन्दा बढी सदस्य रहेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।