काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
अ+
अ-

काठमाण्डौ । एसियाली विकास बैंक (एडिबी) ले नेपालको भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई सहयोग पुर्याउने उद्देश्यले ५ करोड अमेरिकी डलरबराबरको नीतिमा आधारित ऋण स्वीकृत गरेको छ।

एडिबीले जारी गरेको विज्ञप्तिअनुसार उक्त ऋण ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग भन्सार तथा आपूर्ति व्यवस्था (लजिस्टिक्स) सुधार कार्यक्रम’ अन्तर्गत उपलब्ध गराइएको हो। कार्यक्रमले भन्सार प्रक्रियाको आधुनिकीकरणसँगै आपूर्ति व्यवस्थाको क्षमता अभिवृद्धिमा सहयोग गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमअन्तर्गत जोखिममा आधारित जाँच प्रणाली, सरलीकृत भन्सार प्रक्रिया, पर्याप्त पूर्वाधार विकास, नियामकीय सुधार तथा सम्बन्धित निकायबीच समन्वय सुदृढ गरिनेछ। एडिबीका अनुसार यी सुधारले व्यापार लागत घटाउने, सीमापार व्यापारलाई थप छिटो, अनुमानयोग्य र प्रभावकारी बनाउने तथा आपूर्ति शृङ्खलाको दक्षता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाँले नेपालको आर्थिक रूपान्तरण र क्षेत्रीय बजारसँगको आबद्धताका लागि प्रभावकारी भन्सार तथा आपूर्ति व्यवस्था अपरिहार्य रहेको बताए। उनका अनुसार कार्यक्रमले सीमापार व्यापारलाई थप सहज, लागत प्रभावी र विश्वसनीय बनाउँदै व्यावसायिक वातावरण सुदृढ गर्ने, प्रतिस्पर्धात्मकता बढाउने, लगानी आकर्षित गर्ने तथा गुणस्तरीय रोजगारी सिर्जनामा योगदान पुर्याउनेछ।

एडिबीले यो कार्यक्रमले नेपालको सोह्रौँ योजनाका प्राथमिकतासँगै निजी क्षेत्रको नेतृत्वमा हुने आर्थिक वृद्धि प्रवर्द्धन तथा अर्थतन्त्रको विविधीकरणमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।