काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
अ+
अ-

काठमाडौँ। सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक बस कर्णाली नदीमा खस्दा १३ जना बेपत्ता छन्।

घटनास्थलमा एक जनाको शव फेला परेको छ। भिरमा अड्किएको अवस्थामा फेला परेको उक्त शवको परिचय खुलेको छैन।

प्रहरीका अनुसार क.प्र.०२-००१ ख १०५५ नम्बरको गाडी बिहीबार बिहान साढे ११ बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका ७‚ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो। गाडी राजमार्गबाट करिब चार सय मिटर तल नदीमा खसेको थियो। बस सुर्खेतबाट बिहान ८ बजे छुटेको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार बस ४० वर्षीय तुलाराम सुवेदीले चलाएका थिए। चालक सुवेदीसहित अन्य १३ जना कर्णाली नदीमा पाँच घण्टादेखि हराइरहेका छन्। “बस र मानिस दुवै बेपत्ता छन्,” उनले भने।

बेपत्ताको उद्धारमा सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। बसमा १४ जना रहेको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनास्थलभन्दा केही अगाडि पाल्ताडा बजारमा १४ जनाको लागि खाना अर्डर गरिएका आधारमा प्रहरीले संख्याको अनुमान गरेको हो।