काभ्रे। काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न संकायका एक हजार ५२७ विद्यार्थीलाई उपाधि प्रदान गरिएको छ।
दीक्षित हुनेमध्ये २१ जना विद्यावारिधि, ९३ जना एमफिल तथा अनुसन्धानमूलक स्नातकोत्तर, २७९ जना स्नातकोत्तर, दुईजना पीजीडीई र एक हजार १३२ जना स्नातक तहका विद्यार्थी छन्। संकायगत रूपमा स्कुल अफ मेडिकल साइन्सेजबाट सबैभन्दा धेरै ५०४ विद्यार्थी दीक्षित भएका छन्।
त्यस्तै स्कुल अफ इन्जिनियरिङबाट ३५५, स्कुल अफ साइन्सबाट २०७, स्कुल अफ आर्ट्सबाट १६१, स्कुल अफ म्यानेजमेन्टबाट १४६, स्कुल अफ एजुकेसनबाट ११२ र स्कुल अफ लबाट ४२ विद्यार्थीले उपाधि प्राप्त गरे।
दीक्षित हुनेमध्ये आठ सय पुरुष र ७२७ महिला छन्। साथै अस्ट्रेलिया, बांग्लादेश, चीन, भारत, श्रीलंका, बेलायत र अमेरिकाका १७९ विदेशी विद्यार्थी पनि दीक्षित भएका छन्। यो संख्या कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत हो।
यसपटक विश्वविद्यालयबाट पहिलोपटक ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्सअन्तर्गत २६ जना, डक्टर मेडिसिन इन नियोनाटोलोजीअन्तर्गत तीनजना तथा मास्टर्स अफ साइन्स इन मेडिकल बायोकेमेस्ट्री एन्ड मोलिक्योर बायोलोजीअन्तर्गत चार विद्यार्थीलाई उपाधि प्रदान गरिएको छ।
यस चरणको दीक्षान्त सम्पन्न भएसँगै काठमाडौं विश्वविद्यालयबाट हालसम्म स्नातक हुने विद्यार्थी संख्या ५१ हजार ५६७ पुगेको छ। तीमध्ये ६ हजार ३९ विदेशी विद्यार्थी छन्।
दीक्षान्त समारोह शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा भएको हो। समारोहमा पोखरेलले दीक्षित विद्यार्थीहरुलाई आफ्नो भविष्यलाई लिएर धेरै चिन्तित नहुन आग्रह गरे। “म पनि यही विश्वविद्यालयबाट चार वर्षअघि मात्र दीक्षित भएको हुँ। मलाई थाहा थिएन आज म यहाँ पुग्छु भनेर। कसैले छिटै सफलता पाउन सक्नुहुन्छ। कसैलाई समय लाग्न सक्छ,” पोखरेलले भने।
विश्वविद्यालयमा सिकेको ज्ञानलाई समाज रूपान्तरणमा प्रयोग गर्न पनि पोखरेलाले दीक्षित विद्यार्थीलाई आग्रह गरे। उपकुलपति प्राध्यापक ऋषिकेश वाग्लेले आफ्नै पूर्वविद्यार्थी शिक्षामन्त्री तथा सहकुलपतिका रूपमा विश्वविद्यालयमा फर्कँदा गर्व लागेको बताए।
नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउने सवालमा भिसा प्रक्रिया ठुलो चुनौती रहेको औँल्याउँदै सरकारले यथोचित नीतिगत सहयोग गर्नुपर्ने बताए। “अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि हाम्रा भिसा नीतिहरू अझै पनि पर्याप्त सहज र स्वागतयोग्य हुन सकेका छैनन्,” उनले भने।
समारोहमा भारतस्थित डेक्कन कलेज पोस्ट ग्राजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्राध्यापक भूषण पटवर्धन प्रमुख अतिथिका रूपमा सहभागी भई दीक्षान्त सम्बोधन गरे। प्राध्यापक पटवर्धनले दीक्षित विद्यार्थीहरू नेपालको भविष्यको हिस्सा भएको बताए। विद्यार्थीहरूले जुनसुकै क्षेत्रमा प्रवेश गरे पनि नेपालको ज्ञानको सम्पदा र काठमाडौँ विश्वविद्यालयको प्रशिक्षणलाई साथमा लैजाने विश्वास व्यक्त गरे।