एआईलाई अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड

२० असार २०८३
अ+
अ-

पोखरा। गण्डकी प्रदेश सरकारको प्रेस रजिस्ट्रारको कार्यालयले सञ्चार क्षेत्रका समसामयिक विषयमा बहस गर्ने उद्देश्यले एकदिने ‘गण्डकी मिडिया समिट २०८३’ आयोजना गरेको छ।

‘स्वच्छ प्रेस : समुन्नत गण्डकी प्रदेश’ भन्ने नारासहित आयोजित समिटमा ‘मिडियाको अर्थतन्त्र’ र ‘पत्रकारितामा एआई’ विषयमा विज्ञ, सञ्चारकर्मी तथा सरोकारवालाबीच छलफल भएको थियो। ‘मिडियाको अर्थतन्त्र’ विषयमा पत्रकार हरिबहादुर थापा, भूमिराज चापागाईं, दुर्गा अधिकारी र उज्ज्वल आचार्यले आफ्ना धारणा राखेका थिए। त्यसैगरी ‘पत्रकारितामा एआई’ विषयमा वसन्त बस्नेत, रोजमान राई र महेश भण्डारी वक्ताका रूपमा सहभागी भएका थिए।

छलफलका क्रममा सञ्चार क्षेत्रमा नयाँ प्रविधिको प्रयोगसँगै चुनौतीहरू पनि बढ्दै गएको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिलाई जिम्मेवार र सिर्जनात्मक रूपमा अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइएको थियो।

समिटले डिजिटल रूपान्तरणका क्रममा मिडियाको आर्थिक दिगोपन र पत्रकारिताको विश्वसनीयता जोगाउने विषयमा समेत छलफल गरेको थियो। कार्यक्रममा प्रेस रजिस्ट्रारको कार्यालयले पाँचजना अग्रज पत्रकारलाई सम्मान गरेको थियो। साथै ‘हाम्रो समयको पत्रकारिता’ पुस्तकको विमोचन पनि गरिएको थियो।