काठमाडौँ । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति वालेन्द्र शाह ‘बालेन’ले देशका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त गरेका छन्। छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा रिक्त पदमा नियुक्ति गरिएको हो।
नियुक्त हुनेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवीसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सूर्यमान म्याहाङम्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अजयकुमार मिश्र रहेका छन्।
उपकुलपति नियुक्तिका लागि सरकारले गठन गरेको छनोट तथा सिफारिस समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार प्रक्रिया अघि बढाएको थियो। सोही कार्यविधिअनुसार समितिले प्रत्येक प्रतिष्ठानका लागि सात जनाका दरले ४२ जनाको प्रारम्भिक नामावली सार्वजनिक गरी छनोट प्रक्रिया सम्पन्न गरेको थियो। त्यसपछि समितिको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्।