काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

९ पुष २०८२
अ+
अ-

पर्वत। दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा रहेको पैयूँ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। गत साउनमा पैयूँ आधारभूत अस्पताललाई स्वास्थ्य बिमाको प्रथम विन्दु कायम गर्ने स्वास्थ्य बिमा बोर्डले निर्णय गरेको थियो।

सोहीअनुसार गत भदौ २ गते स्वास्थ्य बिमा बोर्डसँग अस्पतालले समझदारी गरी आवश्यक सम्पूर्ण तयारी पूरा भएपछि अस्पतालबाट गत बिहीबारदेखि विधिवत् रूपमा स्वास्थ्य बिमा सेवा सञ्चालनमा ल्याइएको हो।

स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गर्दै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले विकट गाउँमै स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि स्थानीय लाभान्वित हुने बताए । उनले लामो प्रयासपछि जिल्ला सदरमुकामभन्दा बाहिर रहेको अस्पतालमा बिमा कार्यक्रम लागू गर्न सफल भएको बताए।

अध्यक्ष ठकुरीले नागरिकको स्वास्थ्यलाई गाउँपालिकाको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरे। उनले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएसँगै पैयूँ गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय तहमै प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे।

अबदेखि कुनै पनि रोगका लागि अन्यत्र अस्पतालमा पठाउन वा सर्वसुलभ उपचारका लागि छिमेकी जिल्लामा धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ।

पैयूँ आधारभूत अस्पतालबाट प्रवाह हुने स्वास्थ्य बिमा सेवाबाट पैयूँ गाउँपालिकावासीका साथै छिमेकी पालिका विहादी र महाशिला गाउँपालिका तथा अस्पताल पायकपर्ने अन्य क्षेत्रका सेवाग्राहीले पनि लाभ लिनसक्ने पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए।

आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गाउँपालिकाले विशेष प्राथमिकता दिएको जनाउँदै गैरेले स्थानीय तहले सम्पूर्ण नागरिकलाई निश्चित रूपमा स्वास्थ्य बिमा सेवाको उपयोग गर्न अनुरोध गरेको छ।

यसअघि सदरमुकाममा रहेको प्रदेश अस्पताल पर्वतबाट मात्र यो सेवा सञ्चालन हुँदै आएको थियो। पर्वतमा झन्डै ४० हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन्। कतिपय बिमकले स्वास्थ्य बिमा प्रावधानअनुसार प्रदेश अस्पतालबाट औषधि तथा अन्य सुविधा नपाएको गुनासोसमेत गरेका छन्।