१९ पुष २०८२
अ+
अ-

छत्तीसगढ। छत्तीसगढको माओवादी प्रभावित बिजापुर र सुकमा जिल्लामा संदिग्ध माओवादीहरूसँगको दुई छुट्टाछुट्टै मुठभेडमा सुरक्षा बलले १४ माओवादी मारेको दाबी गरेको छ।

प्रहरीले मारिएका माओवादीहरूको संख्या बढ्ने सम्भावना रहेको जनाएको छ।

बस्तरका आईजी प्रहरी सुन्दरराज पीले भने‚ “बिजापुर र सुकमा जिल्लाका दक्षिणी क्षेत्रमा सशस्त्र माओवादीहरूको उपस्थितिबारे विश्वसनीय जानकारीका आधारमा सुरक्षा बलले खोजी अभियान सुरु गरेको छ। अपरेसनको एक भागका रूपमा दक्षिण बस्तर क्षेत्रमा जिल्ला रिजर्भ गार्ड टोलीहरू तैनाथ गरिएको थियो।”

उनले माओवादीसँगको मुठभेड भइरहेको छ सुरक्षा तैनाथी बढाइएको पनि जनाएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ।

उनले थपे‚ “अपरेसनका क्रममा शनिबार बिहान ५ बजेदेखि विजापुर जिल्लामा जिल्ला रिजर्भ गार्ड र माओवादीबीच अन्तरालमा मुठभेडहरू जारी छन्। सुकमा जिल्लामा सुरक्षा बल र माओवादीबीच बिहान ८ बजेसम्म गोलीबारी जारी रह्यो।”

प्रहरीका अनुसार खोजी अभियानका क्रममा अहिलेसम्म मुठभेड स्थलबाट १४ शव बरामद गरिएको छ। यीमध्ये दुई शव बिजापुरबाट बरामद गरिएको छ भने १२ शव सुकमा जिल्लामा फेला परेका हुन्।

प्रहरीले मुठभेड स्थलबाट एके-४७‚ इन्सास राइफल र एसएलआरलगायत ठुलो मात्रामा हतियार पनि बरामद गरेको दाबी गरेको छ। खोजी अभियान अझै जारी छ।

अर्को घटनाक्रममा छत्तीसगढका प्रमुख माओवादी नेता देवा बार्सेले लगभग २० माओवादीसँगै हैदराबादमा आत्मसमर्पण गरेको तेलंगाना प्रहरीले पुष्टि गरेको छ।

विगत दुई वर्षदेखि प्रहरीले छत्तीसगढमा माओवादीविरुद्ध सघन अभियान चलाएको छ। गृहमन्त्री अमित शाहले देशबाट माओवादी आन्दोलनलाई निर्मूल पार्न यस वर्ष मार्च ३१ को समयसीमा तोकेका थिए। त्यसपछि यी अपरेसन तीव्र भएका छन्।

विगत एक वर्षमा बस्तरमा मात्र सुरक्षा बलले ९९ वटा छुट्टाछुट्टै मुठभेडमा २५६ माओवादीलाई मारेको दाबी गरेका छन्। -बीबीसी हिन्दी