काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ। महाधिवेशन प्रतिनिधिको नाम दर्ता गराउने क्रम पनि जारी छ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार साँझ ६ बजेसम्म २‚१८५ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्। “बन्द सत्र सुरु हुनुभन्दा अगाडिसम्म नाम दर्ता जारी रहन्छ,” शिवाकोटीले नेपालन्युजसँग भने।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अभियानमा ५४ प्रतिशत हस्ताक्षरसहित नेपाली कांग्रेस विशेष महाधिवेशनमा होमिएको हो। महाधिवेशनमा कांग्रेसका अधिकांश शीर्ष नेता अनुपस्थित विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान ८ बजेबाट सुरु गर्ने तयारी छ।
कांग्रेसमा ४‚७४३ जना महाधिवेशन प्रतिनिधि छन्। तीमध्ये ५१ प्रतिशत सदस्यले मतदान गरे मात्रै नेतृत्व चयन हुने व्यवस्था विधानले गरेको छ। अर्थात् २‚४१९ प्रतिनिधिले मतदान गर्न सक्दा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुन्छ।
विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्रीद्वय थापासहित पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, पूर्वसभामुख तारानाथ रानाभाट, नेताहरू चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, प्रदीप पौडेल, फर्मुल्लाह मन्सुर, उदयशमशेर राणा, महेश आचार्य, पुष्पा भुसाल, सुरेन्द्र चौधरीलगायत नेता थिए।
महाधिवेशनमा सभापति शेरबहादुर देउवासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री उमाकान्त चौधरी, डिना उपाध्याय, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ सहभागी छैनन्।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा को-को नेता पुगे [तस्बिरमा]
केन्द्रीय सदस्य प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, प्रकाशशरण महत, सुनीलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, सुजाता कोइराला, एनपी साउदलगायत धेरै नेता उपस्थित भएनन्।
२०१४ सालमा पहिलो विशेष महाधिवेशन विराटनगरमा भएको थियो। बीपी कोइरालाको नेतृत्वमा उक्त महाधिवेशन भएपछि अहिले दोस्रो विशेष महाधिवेशन भइरहेको हो।
यो पनि…
जेन-जी आन्दोलनपछि नेतृत्व परिवर्तनको माग गर्दै कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान संकलन गरिएको थियो। ५४ प्रतिशत हस्ताक्षरसहित महामन्त्रीद्वले २९ असोजमा पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका थिए।
यसपछि नेतृत्वले २८ पुसमा नियमित महाधिवेशन बोलाएको थियो। उक्त समयमा नियमित महाधिवेशन गर्न सम्भव नभएको भन्दै पार्टीले २७ वैशाख २०८३ मा आह्वान गरेको थियो।
नियमित महाधिवेशनसमेत छलेको भन्दै विशेष महाधिवेशन पक्षधरले दबाब बढाएका थिए। तर, नेतृत्व विशेष महाधिवेशनमा तयार भएन।