काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

जलवायु

वायु प्रदूषणले न पर्यटक समयमा गन्तव्यमा पुग्छन्, न तिनले दृश्यावलोकनको मौका पाउँछन्

२९ पुष २०८२
वायु प्रदूषणका बीच धमिलो देखिएको स्वयम्भूनाथ र पृष्ठभूमिमा प्रदूषणले छोपेको हिमालको दृश्य। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

पर्वतारोही शर्मिला वाइबासँग भेट हुने हरेक विदेशी पर्यटकले ‘काठमाडौँको वायु प्रदूषणले आफू बिरामी परेको’ दुखेसो पोख्छन्। क्याफे र रेस्टुराँ सञ्चालकसमेत रहेकी वाइबा फुर्सदमा विदेशी पर्यटकलाई घुमाउँछिन्। उनले १६ पुसमा चिलीबाट घुम्न आएका पर्यटकलाई दिनभर ठमेल र वरिपरि घुमाइन्। “यहाँको भूगोल र संस्कृति देखेर उनीहरू एकदमै उत्साहित थिए,” वाइबाले सुनाइन्, “बेलुका छुट्टिने बेला त तिमीहरूको ‘सिटी’ मा एकदमै ‘एयर पोलुसन’ रहेछ, ‘सिक’ बनायो भने।”

नेपाल घुम्न आएका चिलीका पर्यटक मात्र होइन, अरू विदेशीले पनि काठमाडौँको धुवाँधुलो र प्रदूषणले आफूहरूलाई सास्ती दिएको गुनासो गर्ने गरेको वाइबा सुनाउँछिन्। “हिमाली मुलुक भएकाले सफा र स्वच्छ हुने धारणा बनाएर नेपाल आउँछन्, एयरपोर्टमा ओर्लेर होटल आइपुग्न नपाउँदै धुवाँको मुस्लो उडाउँदै थोत्रा गाडी–बाइक तँछाडमछाड गर्दै दौडेको देखेर दिक्क हुन्छन्,” उनी भन्छिन्, “प्रदूषणले सास्ती दिएपछि पर्यटकलाई काठमाडौँ बस्न नपरे हुन्थ्यो जस्तो लाग्छ।”

वातावरण विभागका अनुसार अरू बेलाको तुलनामा हिउँदमा काठमाडौँमा वायु प्रदूषण अत्यधिक हुन्छ। मंसिरदेखि चैतसम्म हावा स्थिर रहने, कम वर्षा हुने र सुक्खापन बढ्ने भएकाले वायुमण्डलमा धुवाँ, धुलो र प्रदूषक तत्त्व जम्छन्। कालो धुवाँ, बाक्लो कुहिरो र तुवाँलो थपिँदै गएपछि मौसम खराब हुने, हवाई उडान र पर्यटकको यात्रा नै प्रभावित हुने गर्छ।

कालो धुवाँ फाल्ने सवारीलाई नियन्त्रणमा लिँदै ट्राफिक प्रहरी। तस्बिर : नेपाल फोटो लाइब्रेरी

त्रिभुवन विमानस्थलको आकाशमा देखिने बाक्लो तुवाँलो र कुहिरोले हवाई उडानका लागि चाहिने ‘भिजिबिलिटी’ कमजोर भएर नियमित उडान प्रभावित हुने गरेको रिसर्च गेटमा एक वर्षअघि प्रकाशित ‘उड्डयन क्षेत्रमा हिउँदे तुवाँलो र कुहिरोको प्रभाव’ शीर्षकको अध्ययनमा उल्लेख छ। अध्ययनमा सन् १९७६ देखि २०२२ सम्म ४६ वर्ष विमानस्थलमा देखा परेको हुस्सु, कुहिरो र हिउँदे तुवाँलोको प्रवृत्ति विश्लेषण गरिएको छ। अध्ययनमा संलग्न जलवायुविज्ञ विनोद पोखरेल भन्छन्, “हिउँदे वर्षा कमजोर हुँदै गएपछि वायु प्रदूषण बढ्ने र काठमाडौँमा तुवाँलोको समस्या बढ्ने गरेको देखिन्छ।”

अर्का पर्वतारोही प्रकाशराज पाण्डेका अनुसार अत्यधिक वर्षा र बादलले मनसुन सिजनमा समेत उडान प्रभावित भएर पर्यटकलाई सास्ती थपिने गरेको छ। त्यस्तै, हिउँदमा दूषित हावाले नेपाल आउने पर्यटकको यात्रा थप कष्टप्रद बनाउने गरेको पाण्डे बताउँछन्। उनी भन्छन्, “मौसम पूर्वानुमानले मौसम सफा हुन्छ भनेकै दिन उडान ढिलो हुन्छ अनि पर्यटक दिक्क हुन्छन्। लुक्ला उड्नलाई गाडी चढेर काठमाडौँबाट मन्थली पुगेका कैयौँ पर्यटक तीन दिनसम्म उडान नभएर दिक्क हुने गरेको देखेको छु। यसले उनीहरूलाई नराम्रो ‘इम्प्रेसन’ दिने गरेको छ।”

काठमाडौँको आकाशमा देखिएको वायु प्रदूषण। तस्बिर : नेपाल फोटो लाइब्रेरी

सरकारले नेपाललाई पर्यटकीय गन्तव्य मुलुक बनाउने घोषणा गरेको दशकभन्दा बढी भइसकेको छ। तर, वायु प्रदूषणले पर्यटकलाई पारेको असरबारे कुनै ख्याल नगरिएको नागरिक अगुवा एवम् पत्रकार कनकमणि दीक्षितको भनाइ छ। “विदेशीहरूलाई घुम्न बोलाइन्छ, तर वायु प्रदूषणले न समयमा हवाई उडान हुन्छ, न पर्यटक गन्तव्यमा पुग्छन्, न त उनीहरूले चाहेअनुसार दृश्यावलोकन गर्न पाउँछन्।” २ मंसिर २०८२ मा काठमाडौँमा आयोजित ‘हेज डिप्लोमेसी’ विषयक छलफलमा बोल्दै दीक्षितले भनेका थिए।

नौ वर्षअघि दीक्षितले सार्क सम्मेलन जमघटको अवसरमा धुलिखेल पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुहिरो, तुवाँलो र कालो धुवाँले गर्दा उत्तरी नेपालका हिमशृंखला राम्ररी देख्न नसकेको प्रसंग पनि सम्झाए। “त्यो दिन बिहानै नेपालका सबै मध्यपहाडहरू धुवाँ र तुवाँलो ढाकिएका थिए, जसले गर्दा धुलिखेलबाट ३० किमिजति दूरीमा रहेको जुगल हिमालको रेन्ज देख्न पनि मुस्किल थियो,” दीक्षितले भने। यसबारे भारतीय म्यागेजिन आउटलुकमा मोदीले बाइनाकुलरबाट हिमाल हेर्ने प्रयास गरिरहेको र हिमाल भने तुवाँलोले ढाकिएको तस्बिर छापिएको छ।

स्वयम्भूबाट धमिलो काठमाडौँ नियाल्दै मानिसहरू। तस्बिर : नेपाल फोटो लाइब्रेरी

धुवाँ, धुलो र प्रदूषणका कारण हवाई रुटमा पर्ने आकाश बाक्लो तुवाँलोले ढाकेपछि गत वर्ष १७ देखि २३ चैतसम्मको एक सातामा मात्रै २२६ वटा आन्तरिक उडान रद्द भएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार त्यतिखेर सात वटा आन्तरिक वायुसेवा कम्पनीका दुईतर्फी गरी २२६ वटा आन्तरिक उडान रद्द भएका थिए।

वायु प्रदूषणले हवाई यात्रा मात्र होइन, सडकबाट यात्रा गर्ने पर्यटक पनि प्रभावित हुन्छन्। कतिपय गन्तव्यमा पुगेका पर्यटक तथा यात्रीलाई समेत वायु प्रदूषणले दृश्यावलोकन गर्न कठिन हुन्छ। एउटा दृष्टान्त हेरौँ : समुद्री सतहदेखि ७,०३१ मिटरको उचाइमा पर्ने बझाङको उत्तरी सिमानामा रहेको साइपाल हिमालमा पछिल्लो एक दशकमा हिउँ पर्ने सिजनमै हिउँ हराउँदै गएको छ। साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीका अनुसार हिमालको बेसक्याम्प आसपासको हिउँमा कालो धुवाँ, धुलोका कण भेटिने गरेको र छिटै पग्लिएर बग्ने गरेको छ। धामी भन्छन्, “पहिले हामी त्यता पुग्दा त्यही सेतो हिउँ बिलाएर पानी बनाई खान्थ्यौँ, अहिले हिउँ खैरोकालो हुन थालेको छ, सायद दूषित धुवाँ, धुलोका कणले यस्तो भएको हुनुपर्छ। साइपाल नै यस्तो भएपछि हिमाल हेर्न बझाङ आउने पर्यटकलाई के देखाउने?”

नेपालको अर्थतन्त्र चलायमान बनाइराख्न पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान छ। पर्यटन क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा २० लाख जनाभन्दा बढीले रोजगारीको अवसर पाएको विश्व यात्रा तथा पर्यटन परिषद्को वार्षिक प्रतिवेदनमा उल्लेख छ। पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सरदर सात प्रतिशतभन्दा बढी योगदान पुर्‍याउँछ। सन् २०२४ मा मात्रै ११ लाख ४७ हजारजति विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेको गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अभिलेख छ। वायु गुणस्तरविज्ञ डा. भूपेन्द्र दास भन्छन्, “सरकारले वायु प्रदूषण नियन्त्रणमा देखिने गरी काम गर्नुपर्‍यो। किनकि, यसले जनस्वास्थ्य, अर्थतन्त्र र पर्यटनमा गम्भीर क्षति पुगेको छ।”