कांग्रेस
संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमतिको प्रयास
संस्थापन पक्ष, विशेष महाधिवेशनको वार्ता टोली र वरिष्ठ नेता शेखर कोइराला समूहबीचको त्रिकोणात्मक वार्ता निष्कर्षविहीन बन्दा नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रको कार्यतालिका प्रभावित बनेको छ।
विशेष महाधिवेशनमा सभापतिसहित १३४ सदस्यीय केन्द्रीय समितिको निर्वाचन प्रक्रिया सुरु गरिए पनि वार्ता निष्कर्षमा नपुग्दा निर्धारित कार्यतालिकाअनुसार बन्दसत्र अघि बढ्न सकेन। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएसँगै मंगलबारका लागि बन्दसत्र सकिएको विशेष महाधिवेशन प्रचारप्रसार समितिका सदस्य जीवन भण्डारीले बताए।
विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा दिउँसो ३ बजेदेखि नै उम्मेदवारलाई फारम वितरण सुरु गरिएको थियो। बेलुका साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्याइएको थियो। “फारम बुझेपछि कुन पदमा कस कसको उम्मेदवारी दर्ता भयो भन्ने यकिन हुन्छ,” भण्डारीले भने।
प्रचारप्रसार समितिका संयोजक पोखरेलका अनुसार सभापति शेरबहादुर देउवाले पार्टीको जिम्मेवारी छोड्नुपर्नेसहित तीन अजेन्डामा वार्ता भइरहेको छ।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार १३४ सदस्यीय केन्द्रीय समितिको निर्वाचन तयारी गरिएको छ। जसमा सभापति, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ जना हुनेछन् भने केन्द्रीय सदस्य १२१ जना हुनेछन्। त्यसमा ३५ खुला केन्द्रीय सदस्य रहनेछन्।
अन्तरिम नेतृत्वमा मिलेन कुरा
विशेष महाधिवेशन आह्वान गरेका महामन्त्रीद्वय थापा र शर्माले खटाएको वार्ता टोली र संस्थापन पक्षको टोलीबीच मंगलबार बिहानदेखि निरन्तर वार्ता भइरहेको छ। वार्ता प्रक्रिया अघि बढिरहे पनि विशेष महाधिवेशन पक्षले निर्वाचनको कार्यतालिका अघि बढाइसकेको छ।
वार्ता लम्बिएका कारण मंगलबार राति ९ बजेका लागि निर्धारित मतदान कार्यतालिका संशोधन गरिएको छ। मतदान बुधबार मात्रै गर्ने गरी तालिका संशोधन गरिएको प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले बताए।
संस्थापन पक्ष र विशेष महाधिवेशनको टोलीबीचको वार्ता निष्कर्षमा पुग्न सकेको छैन। जसका कारण दिउँसो बोलाइएको केन्द्रीय समिति बैठकसमेत बस्न सकेको छैन। “दिउँसो १ बजे नै केन्द्रीय समिति बैठक बस्ने तय गरिएको भए पनि अन्य बैठकहरू चलिरहेका कारण बस्न सकेको छैन,” कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने।
प्रचारप्रसार समितिका संयोजक पोखरेलका अनुसार सभापति शेरबहादुर देउवाले पार्टीको जिम्मेवारी छोड्नुपर्नेसहित तीन अजेन्डामा वार्ता भइरहेको छ।
शीर्ष तहको छलफल सकिएर सहमति भए मात्रै विशेष महाधिवेशनको आगामी कार्यक्रम तय हुनेछ। विशेष पक्षका एक नेताले भने, “दुवै पक्षबाट सहमतिको अधिकतम पहल भइरहेको छ, रातिसम्म सहमति हुने सम्भावना छ।”
दोस्रो, देउवाले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन नपाउने अर्को अजेन्डा विशेष पक्षले अघि सारेको छ। तेस्रो, संस्थापन पक्षले विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्नुपर्ने अजेन्डामा वार्ता भइरहेको छ।
विशेष महाधिवेशन पक्षले सोमबार राति चारसदस्यीय वार्ता समिति गठन गरेको थियो। वार्ता टोलीमा प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरे छन्। देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण छन् भने वरिष्ठ नेता शेखर कोइराला पक्षका जीवन परियार छन्।
वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न संस्थापन पक्ष लचिलो देखिए पनि तत्काल नेतृत्व परिवर्तन गर्ने विषयमा सहमत भएको छैन। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा अन्तरिम सभापति घोषणा गर्न विशेष पक्षधर तयार देखिएका छैनन्। उनीहरूले विशेष महाधिवेशन हलमै आएर देउवाले स्वामित्व ग्रहणसहित नेतृत्व परित्यागको घोषणा गर्नुपर्ने अडान राखेका छन्। उता संस्थापन पक्ष त्यसरी नेतृत्व बिदा नहुने अडानमा छ।
अन्तरिम नेतृत्वमै कुरा नमिलेपछि तत्कालका लागि वार्ता रोकिएको छ। अर्को वार्ता मंगलबार राति नै हुने नेताहरूले बताएका छन्। वार्ता टोलीका सदस्य गुरुराज घिमिरे भन्छन्, “हाम्रो तहमा वार्ता भयो, सहमति हुन सकेको छैन, फेरि वार्ता हुन्छ, वार्ता टुंगोमा नपुगे महामन्त्रीज्यूकै तहमा वार्ता हुन सक्छ।”
संवादमा बसेका संस्थापन पक्षका नेताहरूले शीर्ष तहमा छलफलका लागि समय मागेका छन्।
शीर्ष तहको छलफल सकिएर सहमति भए मात्रै विशेष महाधिवेशनको आगामी कार्यक्रम तय हुनेछ। विशेष पक्षका एक नेताले भने, “दुवै पक्षबाट सहमतिको अधिकतम पहल भइरहेको छ, रातिसम्म सहमति हुने सम्भावना छ।”