विशेष महाधिवेशन
देउवाले चुनाव लड्न नपाउने एजेन्डामा बनेन सहमति
काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक पक्ष‚ संस्थापन पक्ष र वरिष्ठ नेता शेखर कोइराला समूहबीचको वार्ता निष्कर्षमा नपुगेको बताइएको छ। मंगलबार रातिसम्म वार्ता जारी छ, तर विशेष महाधिवेशनका पक्षधरले राखेका मागमा ठोस निष्कर्ष निस्कन सकेको छैन। “अहिलेसम्म भएका वार्ता निष्कर्षतर्फ छैनन्‚” कोइरालानिकट स्रोतले भन्यो‚ “पार्टी लगभग विभाजनको संघारमा छ।”
अहिले वार्ता कहाँ भइरहेको छ भन्नेबारे तीनै पक्षले खुलाएका छैनन्। कुनै पनि नेताले प्रतिक्रिया दिएका छैनन्। सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण वार्तामा छन्। विशेष महाधिवेशनले गठन गरेको वार्ता समितिबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्य वार्तामा छन्। कोइराला पक्षबाट जीवन परियार र मीनेन्द्र रिजाल वार्तामा छन्। तीनै पक्षबीच रातिसम्म वार्ता जारी रहने बताइएको छ।
मंगलबार बिहानदेखि भएको त्रिपक्षीय वार्तामा विशेष पक्षले चारवटा एजेन्डा राखेको कोइरालानिकट स्रोतको दाबी छ। पहिलो‚ सभापति शेरबहादुर देउवाले नेतृत्वबाट विश्राम लिने विषय विशेष पक्षले राखेको छ। सभापति देउवा उक्त एजेन्डामा सकारात्मक छन्। उनी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा अन्तरिम कांग्रेसको नेतृत्व सुम्पिन तयार भएका छन्।
दोस्रो‚ विशेष पक्षले देउवाले अब संसदीय चुनावमा भाग लिन नपाउने एजेन्डा राखेका छन्। त्यसमा संस्थापन पक्ष मात्रै नभएर कोइरालाको समेत बिमति छ। “चुनाव लड्न पाउने व्यक्तिको संवैधानिक अधिकार रहेकाले त्यस्तो एजेन्डामा सहमत हुन सकिँदैन‚” कोइरालानिकट स्रोत भन्छ।
यो पनि…
तेस्रो‚ विशेष पक्षले विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न नेतृत्व तयार हुनुपर्ने एजेन्डा राखेका छन्। उक्त कुरामा संस्थापन पक्ष लचिलो छ। देउवा कार्यवाहक सभापति खड्कालाई अन्तरिम सभापति दिन तयार भइसकेका छन्। चौथो‚ विशेष वार्ता समितिले प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा ४० प्रतिशत भाग मागेका छन्। “उक्त विषयमा समेत छलफल गरी निकास दिने कुरामा सभापति‚ कार्यवाहक सभापति र शेखर तयार हुनुहुन्छ‚” कोइरालानिकट स्रोत भन्छ।
कोइरालाले पार्टी विभाजन रोक्नका निम्ति अधिकतम प्रयास अहिले पनि जारी राखेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए। “अहिलेसम्म जति प्रयास भएका छन्‚ पार्टीलाई एकताबद्ध ढंगले लैजाने कुरामा जोड शेखर दाको छ‚” थपलिया भन्छन्‚ “कुनै पनि एजेन्डामा अहिलेसम्म ठोस प्रगति भएको बुझिएको छैन।”
कोइरालाद्वारा अन्तरिम सभापति बन्न अस्वीकार
वरिष्ठ नेता शेखर कोइरालाले विशेष महाधिवेशनबाट अन्तरिम कालका लागि कांग्रेसको नेतृत्व लिन अस्वीकार गरेका छन्। विशेष महाधिवेशनबाट अन्तरिमकालका लागि नेतृत्व कार्यवाहक सभापति खड्काले लिनुपर्नेमा उनले जोड दिएका छन्।
“अहिलेसम्म अन्तरिमकालका लागि नेतृत्व लिन ठोस प्रस्ताव आएको पनि छैन, त्यस्तो प्रस्ताव आए पनि स्वीकार गर्न सकिँदैन‚” कोइरालानिकट स्रोतले भन्यो‚ “विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न नेतृत्व नै तयार भइसकेको अवस्थामा अन्तरिम नेतृत्व कार्यवाहक सभापतिजीले गरून्। म तयार छैन।”
विशेष महाधिवेशनको नेतृत्व गरेका दुवै महामन्त्रीले अन्तरिम नेतृत्व गरेर अघि बढ्न नचाहेको कोइरालानिकट स्रोतको दाबी छ। “यसो हुँदा र वार्ता विफल हुँदा विशेष पक्ष विशेष महाधिवेशनको निर्वाचनमा जाने सम्भावना बलियो छ‚ त्यहाँ नयाँ नेतृत्व चयन गर्ने सम्भावना बढी हुन्छ‚” उक्त स्रोतले भन्यो‚ “यो भनेको पार्टी विभाजन हुनु हो।”
विशेष महाधिवेशनमा सहभागी कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधि पार्टी विभाजनको पक्षमा भने छैनन्। तर, उनीहरू यही महाधिवेशनबाट नीति मात्रै नभएर नेतृत्व परिवर्तन हुनुपर्ने माग गरिरहेका छन्। विशेष महाधिवेशनमा सहभागी भएका नेता चन्द्रकान्त भण्डारीले भृकुटीमण्डप छोडेर एकताको पक्षमा रहेको सन्देश दिइसकेका छन्। कोइरालानिकट रहेका उनले मंगलबार केन्द्रीय कार्यालय पुगेर आफू विभाजनको पक्षमा नरहेको स्पष्ट सन्देश दिए। कोइरालानिकट नेता सुनील शर्मा पनि पार्टी एकता जोगाउन भन्दै महाधिवेशनस्थलबाट बाहिरिइसकेका छन्।
२७ पुसदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सकिइसकेको छ। नेतृत्व चयनका निम्ति विशेष महाधिवेशन अग्रसर भइसकेको छ। उम्मेदवारी दर्ताको विवरण हालसम्म प्राप्त भएको छैन। १३४ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गर्ने उद्घोष साथ निर्वाचन समितिले प्रक्रिया अघि बढाएको छ।
मनोनयन पत्र दर्ता गर्ने अर्को तालिका
त्रिपक्षीय वार्ता जारी रहँदा विशेष महाधिवेशन आयोजक पक्षले मनोनयन प्रक्रियाको तालिका पुन: संशोधन गरेको छ। केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीले मंगलबार राति मनोनयन दर्ताको समय संशोधन गरेका हुन्।
केसीले मनोनयन दर्ताको समय बुधबार बिहान ८:१५ बाट सुरु गरी ९:१५ सम्म थपिएको जानकारी दिएका छन्। विशेष महाधिवेन पक्षले मंगलबार साढे ७ बजेसम्म मनोनयन प्रक्रिया सकिने जनाएको थियो। “यसअघि निवाचन कार्यतालिकाको सूचना प्रकाशित गरिएकामा मनोनयन पत्र दर्ताका लागि बुधबार बिहानसम्म समय थप गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ‚” केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
