काठमाडौँ। सिन्धुलीस्थित नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ। घ्याङलेख गाउँपालिका ५ मा रहेको एसबीआई बैंकको शाखा कार्यालयमा मंगलबार बेलुका लुटपाट भएको हो।
सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार मंगलबार बेलुका करिब साढे ७ बजे बैंकमा लुटपाट भएको हो। पाँच-६ जनाको समूहमा रहेको समूहले सुरक्षागार्डमाथि कुटपिट गरी बैंकमा लुटपाट मच्चाएको सुवेदीले जानकारी दिए।
सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार रकम यकिन भएको छैन। “गाडीसहित एउटा बोरामा पैसा भेटिएको भनी प्रहरीले जानकारी दिएको छ‚” श्रेष्ठले नेपालन्युजलाई भनिन्।
सिन्धुली प्रहरी प्रमुख सुवेदीले गाडीसहित एक जनालाई नियन्त्रणमा लिइएको बताए। “जंगलबाट गाडी‚ पैसा र एकजना व्यक्ति नियन्त्रणमा लिइएको छ‚” उनले भने।
प्रहरी उपरीक्षक सुवेदीका अनुसार पेस्तोल बोकेको समूहले बैंकमा लुटपाट मच्चाएको थियो। “बोरासहित पैसा बरामद भएको छ‚ के कति छ हामी गन्ती गरिरहेका छौँ‚” सुवेदीले भने‚ “लुटपाट गर्ने समूहको खोजीमा सिन्धुली प्रहरीको सबै टोली परिचालन भएको छ।”