काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

२ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट गर्ने भएको छ ।

काउन्सिलका रजिष्ट्रार डा सतिसकुमार देवले चिकित्सकलाई काठमाडौँ आउनुपर्ने झन्झट अन्त्य गर्न अबदेखि सातवटै प्रदेशबाट चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा गर्ने निर्णय गरिएको जानकारी दिए । यसअघि चिकित्सकलाई चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि काठमाडौँ आउनुपर्दथ्यो ।

रजिष्ट्रार डा देवले सातवटै प्रदेशमा कहाँ–कहाँ परीक्षा केन्द्र राख्ने अझै निर्णय नभएको बताए । उनले सातवटै प्रदेशबाट परीक्षाको व्यवस्था गरे परीक्षार्थीलाई यात्रा र समयको बचत हुनेमात्र नभई परीक्षा प्रक्रियाको पारदर्शिता र गुणस्तर पनि बढ्ने बताए ।

काउन्सिलले अबदेखि काउन्सिलको निर्वाचन पनि अनलाइनमार्फत गर्ने निर्णय गरेको छ । उनले सबै चिकित्सकको सहभागिता गराउन र निर्वाचन प्रक्रियालाई पारदर्शी, सहज र प्रविधिमैत्री बनाउने अनलाइनबाट मतदान गर्ने निर्णय गरिएको बताए ।

“चिकित्सक जहाँ हुनुहुन्छ त्यहीँबाट नै अनलाइन मतदान गर्नुहुन्छ”, उनले भने, “सधैँ बिरामीको उपचारमा खट्ने चिकित्सकलाई अनलाइन मतदान गर्दा निर्वाचनमा पनि धेरै चिकित्सकले सहभागिता जनाउनुहुनेछ ।”