काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

राजनीति

तीनै पक्ष उम्मेदवार टुंग्याउँदै‚ अदालतको मुद्दा देखाएर अल्मल्याउँदै देउवा पक्ष

५ माघ २०८२
नेपाली कांग्रेसका सभापति गगन थापा, शेखर कोइराला र शेरबहादुर देउवा
अ+
अ-

काठमाडौँ। विशेष महाधिवेशनपछि औपचारिक रूपमा विभाजित देखिएको नेपाली कांग्रेस चुनावी मैदानमा भने अन्तत: एक भएको छ। सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच पार्टीको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहिरहेकै अवस्थामा कांग्रेस प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने निर्णयमा पुगेको हो।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्ष चुनौती दिँदै सर्वोच्च अदालत पुगेको छ। तर, अदालतको निर्णय पर्खेर बस्दा निर्वाचन आयोगमा सूची छुट्ने भएपछि दुवै पक्ष आ-आफ्ना उम्मेदवार छान्दै निर्वाचनमा होमिने पक्षमा एकमत छन्। वरिष्ठ नेता शेखर कोइराला पक्ष अदालतबाट जे निर्णय आउँदा स्वीकार गर्दै उम्मेदवार छनोट प्रक्रियामा सहभागी भइसकेको छ।

देउवा पक्षसमेत सोही रणनीतिमा उत्रँदै उम्मेदवार चयन प्रक्रियामा सामेल भएको छ। मंगलबार दुवै पक्षलाई सर्वोच्च अदालतले बोलाएको छ। मुद्दाको अनिश्चितताबीच कांग्रेसका तीनैवटै पक्षलाई उम्मेदवार टुंगो लगाउन समयसीमाले च्यापेको छ। अदालतमा सुनुवाइ हुनुअगावै प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने बाध्यताले कांग्रेसका तीनवटै धारलाई आ-आफ्नो राजनीतिक गणनासहित उम्मेदवार छान्न दौडाइरहेको छ।

प्रवक्ता देवराज चालिसेका अनुसार तीन पक्षबीच एकताबद्ध भएर चुनावमा जाने सहमति भएको छ। तीनै पक्ष टिकट बाँडफाँटमा सहभागी भएको उनले बताए। कसले-कति प्रतिशत टिकट बाँडफाँट गरे नेताहरूले स्पष्ट बताएका छैनन्। “यसमा कसको कति प्रतिशत भन्ने हुँदैन, सबै समूहलाई समेटेर न्यायोचित तरिकाले निर्वाचनमा उम्मेदवार छान्दै छौँ‚” चालिसे भन्छन्। उनले संसदीय बोर्डबाट उम्मेदवार टुंग्याउने तर अहिलेसम्म बोर्ड नबसकेको बताए।

हिमाली जिल्लामा टुंगो‚ तराई पहाड र उपत्यकाबारे बोर्ड बस्दै
त्रिपक्षीय सहमति भएसँगै नेपाली कांग्रेसले हिमाली भेगको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी टुंग्याएको छ। तथापि तराई‚ पहाड तथा काठमाडौँ उपत्यकाको उम्मेदवारी टुंगो लगाउन नेतृत्वलाई सकस परेको छ। सोमबार दिउँसो हिमाली जिल्लाको उम्मेदवारी टुंगो लागेको थियो। हिमाली जिल्लाको उम्मेदवारी टुंगो लगाइए पनि विवरण सार्वजनिक गरिएको छैन। “कतिपय जिल्लाको उम्मेदवारी संशोधन हुन सक्ने भएकाले सार्वजनिक गरिएको छैन‚” थापानिकट एक नेता भन्छन्।

उपत्यका, पहाड र तराईको उम्मेदवारी टुंगो लगाउन सोमबार राति संसदीय बोर्डको बैठक बस्ने कांग्रेस प्रवक्ता चालिसे बताउँछन्। “राति बोर्ड बस्ने तयारी छ‚ मापदण्ड र प्रणालीलाई आधार बनाएर सबैलाई समेट्ने गरी बोर्डले उम्मेदवार छान्नेछ‚” चालिसे भन्छन्। तर‚ बोर्डको बैठक कति बेला बस्ने भन्नेबारे उनले स्पष्ट पार्न सकेनन्।

सभापति निर्वाचित भएपछि थापाले आफ्नो नेतृत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गरेका थिए। उक्त बोर्डले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार चयन गर्नेछ। ६ माघ (मंगलबार) ११:३० बजेभित्र प्रतिनिसभाको प्रत्यक्षतर्फको उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यतालिका छ। आयोगको समयसीमा नजिकिँदा सभापति थापा‚ निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच त्रिपक्षीय वार्ता भएको थियो। तिनै पक्षबीच सहमति भइसकेकोले अब बैठकले उम्मेदवार टुंगो लगाउने चालिसेले बताए।

३० पुसमा विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए। २ माघमा आधिकारिकता टुंग्याउँदै निर्वाचन आयोगले थापा पक्षलाई चुनाव चिह्न र झन्डा दिने निर्णय गरेको थियो। आयोगको निर्णय गैरकानुनी रहेको ठहर गर्दै ३ माघमा निवर्तमान सभापति देउवा पक्षले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो।

आधिकारिकताको विवाद अदालतमा पुगेपछि कांग्रेसमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन ढिलाइ भइरहेको छ। थापा तीनै पक्षलाई समेटेर चुनावमा लैजान तयार भएपछि थापा-देउवा-कोइराला पक्षबीच लामो वार्ता चल्यो। वार्तामा सहमतिमै उम्मेदवार छान्ने निचोड निस्किएको चालिसे बताउँछन्। “क्षमता‚ योगदानसहित परिवर्तनको आवश्यकतासमेत रहेका कारण आग्रह-पूर्वाग्रह नराखीकन छलफल हुँदा सहमति बनेको हो‚” प्रवक्ता चालिसे भन्छन्‚ “पार्टीमा एकता पनि प्रदर्शित होस् भनेर परिपक्व, परिणामुखी नतिजासमेत ल्याउने गरी त्रिपक्षीय वार्ता गर्दा केही ढिलो भएको हो।”

दिनभरि वार्ता‚ मुद्दाबारे अल्मल्याउँदै देउवा पक्ष
आइतबार राति र सोमबार अपराह्नसम्म भएको त्रिपक्षीय वार्तामा सभापति थापाको तर्फबाट नेता देवराज चालिसे र मधु आचार्य सहभागी भए। देउवाले रमेश लेखक र बालकृष्ण खाण‚ कोइरालाले मीनेन्द्र रिजाललाई वार्तामा पठाएका थिए। कोइराला पक्षका नेता रिजालका अनुसार तीन पक्षबीच उम्मेदवारको विषयमा लामो संवाद भयो। स्रोतका अनुसार संवादमा तीनै पक्षले टिकटमा आ-आफ्नो भाग खोजेका थिए। तीनै पक्षले भागबन्डा नभएको दाबी गरिरहेका छन्।

थापा समूहले ४०‚ देउवा र कोइराला समूहले ३०-३० प्रतिशत सिट बाँटफाँट गरेको स्रोत बताउँछ। यद्यपि रिजालले बाँडफाँट नमागेको बताए। उनी भन्छन्‚ “हामीले प्रतिशतमा बाँडफाँट खोजेका छैनौँ, अपराह्न कुराकानी भएको थियो। हामीले हाम्रो कुरा राखेका छौँ‚ उताबाट जवाफ आएको छैन।”

थापानिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देउवा र कोइराला दुवै समूहले उम्मेदवारको सूची पठाएका छन्। “उक्त सूचीलाई कसरी अन्तिम रूप दिने भन्नेबारे बोर्डले निर्णय गर्छ, बोर्डको बैठक बस्दै छ‚ आज रातभरि समय लाग्न सक्छ‚” उनी भन्छन्।

देउवा समूहका नेता भने आन्तरिक छलफलमै रहेको बुझिएको छ। सहमतिमै छनोटको प्रक्रिया अघि बढ्ने भएपछि निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन्। “एकातिर अदालतमा विशेष महाधिवेशन अवैधानिक छ भनी निवेदक आफैँ छु, यस्तो अवस्थामा अदालतको निर्णयअगावै उम्मेदवार बन्न मेरो नैतिकताले दिँदैन‚ त्यसैले म उम्मेदवार बन्दिनँ‚” उनले नेपालन्युजलाई भने।

देउवा पक्ष भने उम्मेदवारको सूचीमा आफ्ना व्यक्तिहरू समेट्दै अल्मल्याउने प्रयास गरिरहेको छ। निवर्तमान उपसभापति खड्काले सोमबार राति फेसबुकमा स्टाटस लेख्दै अदालतमा दायर मुद्दा फिर्ता गर्ने कुरा सत्य नभएको स्पष्ट पारे। उनले भनेका छन्‚ “निर्वाचन आयोगले गरेको अवैधानिक निर्णयका विरुद्ध सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्णरूपमा असत्य भएको म स्पष्ट पार्न चाहन्छु।”

सभापति थापाले आफ्नो हस्ताक्षरमा उम्मेदवार चुनावी मैदानमा जाँदा अदालतमा दायर गरिएको मुद्दा फिर्ता लिनुपर्ने सर्त राखेका छन्। उक्त सर्तमा देउवा समूह केही लचिलो देखिएको छ। तर, देउवा समूहले अदालतमा पुगेको मुद्दा फिर्ताबारे ठोस निर्णय लिइसकेको छैन। “वार्ताका क्रममा अदालतमा दायर मुद्दाबारे कुरा उठेको हो, पार्टीको आन्तरिक विवादका प्रसंग निस्किँदा मुद्दाबारे कुरा भएको हो‚” नेता लेखक भन्छन्।