काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार १६२ वटा निर्वाचन क्षेत्रमा उम्मदवार टुंगो लागेको हो।
मंगलबार २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ देशभरिका १६५ क्षेत्रमा उम्मेदवारी दर्ता भइरहेको छ। प्रवक्ता चालिसेका अनुसार उम्मेदवार छान्न पार्टीले संसदीय बोर्ड गठन गरेको थियो। सभापति गगन थापा नेतृत्वमा गठन भएको बोर्डको बैठक आइतबारदेखि बसिरहेको थियो। “देशभरिका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाइएको छ, तीनवटा क्षेत्रमा बाँकी छ, मापदण्ड र प्रणाली तथा विगतको चुनावी परिणामको स्थितिसमेत मूल्यांकन गरी उम्मेदवार छनोट भएको छ,” चालिसेले भने, “विभाजित मनस्थितिमा नभएर एकढिक्का भई चुनावमा जान तीनै पक्षमा सहमति छ।”
सुनसरी-३ को अहिलेसम्म टुंगो नलागेको चालिसेले बताए। त्यहाँ विजयकुमार गच्छदारलाई उम्मेदवार बनाउने/नबनाउने विषयमा विवाद कायमै रहेको छ। यस्तै नवलपुर-१ र नवलपरासी-२ मा उम्मेदवार टुंगो लागेको छैन। नवलपुर-१ बाट नेता शशांक कोइराला उठ्ने गर्थे।
विशेष महाधिवेशनपछि कांग्रेस विभाजितजस्तै अवस्थामा छ। आधिकारिकताको विवाद सर्वोच्च अदालतमा पुगेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा मुद्दा हालेको छ। देउवा र मध्यमार्गी धारका वरिष्ठ नेता शेखर कोइराला समूहलाई समेत समेटेर उम्मेदवार छनोट गर्दा कांग्रेसमा ढिलाइ भएको थियो।
थापा तीनै पक्षलाई समेटेर चुनावमा लैजान तयार भएपछि थापा-देउवा-कोइराला पक्षबीच लामो वार्ता चलेको थियो। त्रिपक्षीय वार्तामा सोमबार उम्मेदवार लिएर जाने सहमति भएको थियो।
सभापति थापा सर्लाही-४ बाट चुनाव लड्ने भएका छन्। उपसभापति विश्वप्रकाश शर्मा यसपटक उम्मेदवार बनेनन्। महामन्त्री गुरुराज घिमिरे मोरङ-४ र प्रदीप पौडेल काठमाडौँ-५ बाट उम्मेदवार भएका छन्।
टिकट वितरणमा निवर्तमान सभापति देउवा, शशांक कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, नेतृ आरजु राणा, नेता रमेश लेखक, पूर्णबहादुर खड्का, धनराज गुरुङ, बालकृष्ण खाण, मोहनबहादुर बस्नेत, दीपक खड्का, रामहरि खतिवडालगायत प्रभावशाली नेताहरू छुटेका छन्। खड्का आफैँले चुनाव नउठ्ने घोषणा गरेका हुन् भने अन्यले टिकट माग्दासमेत थापा समूहले नदिएको हो।
खाण नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा झेलिरहेका कारण टिकटबाट वञ्चित भए। बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा अदालतमा विचाराधीन रहेकाले टिकट पाएनन्। विमलेन्द्र निधि, शेखर कोइराला, चन्द्र भण्डारी, प्रकाशशरण महत, एनपी साउद, मिनेद्र रिजाललगायत चुनावी मैदानमा छन्।
को कहाँबाट चुनाव लड्दै?