काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

चुनाव

आफू उम्मेदवार नबने पनि आफ्ना विश्वासपात्रलाई अघि बढाए खड्का र थानीले

६ माघ २०८२
कांग्रेस नेता पूर्णबहादुर खड्का र हृदयराम थानी
अ+
अ-

सुर्खेतका दुई निर्वाचन क्षेत्रबाट करिब तीन दशकदेखि निरन्तर संसदीय चुनाव लडेका नेपाली कांग्रेसका दुई नेताले २१ फागुनको प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन्। २०४८ सालयताका सबै संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दै आएका कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र २०५१ देखि क्षेत्र नम्बर २ बाट निरन्तर उम्मेदवार बन्दै आएका पूर्वकेन्द्रीय सदस्य हृदयराम थानीले चुनावी प्रतिस्पर्धाबाट सन्न्यास लिएका छन्।

खड्काले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमिति अवैधानिक भन्दै थापाको हस्ताक्षरमा वितरण हुने टिकटबाट आफू चुनाव नलड्ने घोषणा गरेका हुन्। सुर्खेत २ बाट उम्मेदवार नहुने घोषणा गरेका थानीले भने प्रतिकूल स्वास्थ्यस्थितिका कारण चुनावमा उम्मेदवार नहुने बताएका छन्। ‘म सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएको सबैलाई अवगत नै छ। तर, करिब दुई महिनादेखि नसासम्बन्धी समस्याले हिँडडुल गर्न सकिरहेको छैन,’ थानीले १ माघमा जारी गरेको प्रेस नोटमा लेखेका छन्, ‘म उपचार गरिरहेको छु, तसर्थ मेरो प्रतिकूल स्वास्थ्य अवस्थाका कारण माघ ६ गतेको मनोनयन दर्तामा उपस्थित र त्यसपछि सक्रिय हुन नसक्ने परिस्थिति देखिएकाले फागुन २१ मा हुने निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु।’

सुर्खेत २ बाट प्रतिनिधिसभाका उम्मेदवार कांग्रेसका नारायणप्रसाद कोइराला

कांग्रेसबाट खड्का र थानीले निरन्तर एकलौटी टिकट पाउने गरेका थिए। २३ र २४ भदौको जेन-जी आन्दोलनपछि बदलिएको परिस्थिति अनि विशेष महाधिवेशनपछि कांग्रेसभित्र चुलिएको अन्तरकलह र विभाजनले खड्का र थानीलाई चुनावी प्रतिस्पर्धाबाट अलग गराएको छ। यसपालि पनि सुर्खेत १ मा कांग्रेसबाट खड्का एकल सिफारिसमा परेका थिए भने क्षेत्र नम्बर २ बाट थानीसहित ६ जनाको नाम सिफरिस भएको थियो। देउवालाई निरन्तर सहयोग गर्दै आएका खड्कालाई जेन-जी आन्दोलनपछि देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए भने थानी चाहिँ कांग्रेसमा शेखर कोइराला समूहमा सक्रिय थिए।

निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको विशेष महाधिवेशनले चुनेको कार्यसमितिलाई आधिकारिकता दिएपछि खड्का देउवाको पक्षबाट आयोगविरुद्ध रिट हाल्न सर्वोच्च अदालत गएका थिए। शेखर कोइरालानिकट थानी भने विशेष महाधिवेशनको तेस्रो दिन महाधिवेशनस्थल पुगेका थिए। थानीले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर पनि गरेका थिए भने महाधिवेशनपछि कार्यसमितिको पदाधिकारी हुने चाहना राखेका थिए। तर, उनको चाहना पूरा भएन।

खड्काले सुर्खेत १ बाट ६ पटक निर्वाचन जितिसकेका छन्। यस क्षेत्रबाट उनले २०४८, २०५१, २०५६, २०७० र २०७९ सालमा प्रत्यक्ष निर्वाचन जितेका थिए भने २०६४ को पहिलो संविधानसभामा कांग्रेसको समानुपातिक सभासद् भएका थिए। २०७४ सालमा भने उनी नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए।

सुर्खेत १ बाट प्रतिनिधिसभाका उम्मेदवार कांग्रेसका विष्णु खड्का

थानीले चाहिँ २०५१ सालदेखि सुर्खेत २ बाट लगातार चुनाव लड्दै आएका छन्। उनले तीनपटक प्रत्यक्ष निर्वाचन जितेका छन्। २०५१ सालको मध्यावधि निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित भएका उनी २०५६ सालमा एमाले उम्मेदवारलाई पराजित गरेर सांसद भए। २०६४ सालको संविधानसभामा उनी फेरि पराजित भए भने २०७० सालको दोस्रो संविधानसभामा विजयी बने। २०७४ को चुनावमा पराजित थानी २०७९ को निर्वाचनमा भने फेरि सांसद चुनिए।

रोचक के छ भने, आफू उम्मेदवार नबने पनि खड्का र थानीले विश्वासपात्रलाई आआफ्ना क्षेत्रमा कांग्रेसको उम्मेदवार बनाएका छन्। खड्काले सहोदर भाइ विष्णुकुमार खड्कालाई सुर्खेत १ बाट उम्मेदवार बनाएका छन्। यातायात र मेडिकल व्यवसायीको पहिचान बनाएका विष्णुकुमार कांग्रेसका सुर्खेत उपसभापति हुन्। थानीको क्षेत्र सुर्खेत २ बाट कांग्रेसका नारायण कोइराला उम्मेदवार बनेका छन्। कोइराला पनि थानीनिकट मानिन्छन्। कोइराला समूहमा रहेका उनी कांग्रेसको कोटाबाट वीरेन्द्रनगरको साविक उपत्यका नगर विकास समिति अध्यक्ष बनेका थिए।