काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

खिचिक्क

६ माघ २०८२
अ+
अ-

बुटवल। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको कार्यक्रमअन्तर्गत आज रुपन्देहीमा पनि उल्लासमय वातावरणमा उम्मेदवारी दर्ता भएको छ। देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी उम्मेदवारी रुपन्देहीमा परेको छ।

निर्वाचन आयोगका अनुसार रुपन्देही निर्वाचन क्षेत्र २ मा ३५ र रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा ३७ जनाको उम्मेदवारी परेको छ। दलहरू पार्टीका झन्डासहित नारा लगाउँदै निर्वाचन कार्यालय पुगेका थिए। उम्मेदवारीका लागि टीका र अबिर लगाएर पुगेका सबैजसो उम्मेदवारले मुलुकलाई नयाँ गति दिने र आर्थिक हिसाबले सबल बनाउने मुद्दा अगाडि बढाउने आश्वासन बाँडेका छन्।

रुपन्देहीमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलदेखि प्रदेश सभा सदस्यहरू समेतले पद त्याग्दै उम्मेदवारी दिएका छन्।

रुपन्देही १ मा कांग्रेसबाट हीरा केसी, एमालेबाट दधिराम न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनील लम्साललगायतले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै रुपन्देही २ मा एमालेबाट पार्टी उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसबाट उद्योगी चुन्नप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीबाट सुभाष पाण्डे (विश्वदीप) ले उम्मेदवारी दर्ता गराएका छन्।

रुपन्देही ३ मा एमालेबाट वासुदेव घिमिरे, कांग्रेसबाट सुशील गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लेखजंग थापा र राप्रपाबाट दिवंगत दीपक बोहराका छोरा गौरव बोहराले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट फैज अहमद खाँ उम्मेदवार बनेका छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पार्टीका युवा नेता श्रीनिवास यादवले उम्मेदवारी दर्ता गराएका छन्।

रुपन्देही ४ मा एमालेबाट प्रमोद यादव, कांग्रेसका आशुतोष मिश्रा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कन्हैया बानियाँले उम्मेदवारी दिएका छन्। रुपन्देही ५ मा कांग्रेसबाट भरत शाह, एमालेबाट खिमलाल भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट तौफिक अहमद खानलगायतले उम्मेदवारी दिएका छन्।