काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

क्रिकेट

दुई सर्त : स्कटल्यान्डसँग ३९ रन अन्तरको विजय र नेदरल्यान्ड्ससँग थाइल्यान्डको हार

११ माघ २०८२
जिम्बावेविरुद्धको खेलमा नेपाली टोली। तस्बिर : क्यान
अ+
अ-

नेपाल नेदरल्यान्ड्ससँग दुई रनले नहारेको भए के हुन्थ्यो? अनि स्कटल्यान्डले शीर्ष स्थानमा रहेर आईसीसी टी-२० महिला विश्वकप छनोटको सुपर सिक्समा स्थान बनाइसकेको नेदरल्यान्ड्ससँगै सात रनको हार नबेहोरेको भए के हुन्थ्यो?

कम्तीमा सोमबार हुने समूह ‘बी’ को अन्तिम खेल यसरी जेलिने थिएन। स्कटल्यान्ड, थाइल्यान्ड र नेपालमध्ये सुपर सिक्समा पुग्ने दुई टोली कुन कुन हुनेछन् भन्ने टुंगो सहजै लाग्ने देखिन्न।

पहिलोपल्ट विश्वकप खेल्ने लक्ष्यसहित अगाडि बढिरहेको नेदरल्यान्ड्सले यस समूहमा नेपाल र स्कटल्यान्डसँगै जिम्बाबेलाई २२ रनले पराजित गर्दै एक खेलअगावै सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ।

तर, जिम्बाबे बाहिरिँदा समान तीन खेल खेलेका स्कटल्यान्ड, थाइल्यान्ड र नेपालसँग भने सुपर सिक्समा पुग्ने सम्भावना कायमै छ। स्कटल्यान्ड र थाइल्यान्डले समान तीन खेलमा दुई जित हासिल गर्दै चार अंक बटुलिसकेका छन्। समान खेलबाट दुई अंक मात्र रहेको नेपाल भने यी दुई टोलीलाई पाखा लगाउँदै सुपर सिक्समा पुग्ने लक्ष्यमा छ।

स्कटल्यान्डको नेट रनरेट +१.५७५ छ। स्कटल्यान्डसँगै चार अंक रहेको थाइल्यान्डको भने नेट रनरेट –०.२८६ छ। तर, नेपालको नेट रनरेट –०.३२८ छ। यही ठूलो अन्तरका कारण नेपालको नेट रनरेट स्कटल्यान्डभन्दा माथि पुर्‍याउन कम्तीमा ३९ रनको जित आवश्यक पर्ने हुन्छ।

त्यसैले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान हुने स्कटल्यान्डसँगको खेल जसरी पनि जित्न टोली तत्पर रहेको उपकप्तान पूजा महतो बताउँछिन्। “हाम्रो लक्ष्य पूरा गर्न स्कटल्यान्डलाई ठूलो अन्तरमा जित्नुपर्ने हुन्छ। त्यसका लागि हामी तयार छौँ,” उनी भन्छिन्।

पुनरागमन गरेका स्कटल्यान्ड र नेपाल

जारी प्रतियोगितामा नेपाल र स्कटल्यान्ड दुवैले हारसँगै आफ्नो अभियान सुरु गरेका थिए। नेपालले पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटको फराकिलो पराजय बेहोरेको थियो। त्यसको दुई दिनपछि प्रतियोगितामा प्रवेश गरेको स्कटल्यान्डले नेदरल्यान्ड्ससँग सात रनको झिनो हार भोग्नुपर्‍यो।

यी नतिजापछि नेदरल्यान्ड्सले सुपर सिक्समा प्रवेश गर्ने सम्भावना बलियो बनायो। तर, नेपाल र स्कटल्यान्डलाई जितको दबाब थपियो। यही दबाबबीच नेपालले नेदरल्यान्ड्सलाई दुई रनको पीडादायी नतिजा सुम्पियो। उता, स्कटल्यान्ड जिम्बाबेविरुद्ध पाँच विकेटको जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्न सफल रह्यो।

शनिबार नेपालले सोही टोली जिम्बाबेविरुद्ध ६ विकेटको सानदार जित दर्ता गर्दा स्कटल्यान्डले पनि थाइल्यान्डलाई पाँच विकेटले हराउँदै आफ्नो सम्भावना मजबुत बनाएको छ। यस क्रममा नेपालले पहिलोपटक टेस्ट राष्ट्रलाई पराजित गर्दै ऐतिहासिक उपलब्धि त हासिल गर्‍यो, तर सुपर सिक्समा पुग्ने जटिल समीकरणको यात्रा बाँकी नै छ।

जिम्बाबेविरुद्धको जितपछि समर्थकसँग तस्बिर खिचाउने क्रममा नेपाली टोली। तस्बिर : क्यान

सुपर सिक्समा स्थान सुरक्षित गर्न नेपाललाई स्कटल्यान्डविरुद्ध सामान्य जित मात्र पर्याप्त हुनेछैन। नेपालले कम्तीमा ३९ रनको फराकिलो अन्तरले स्कटल्यान्डलाई हराउनुपर्नेछ।

सँगै, नेदरल्यान्ड्सले थाइल्यान्डविरुद्ध आफ्नो अन्तिम खेलमा जित हात पार्नुपर्ने अर्को सर्त पनि छ। यी दुवै अवस्था पूरा भए मात्र नेपाल अंकतालिकाको शीर्ष तीनभित्र अटाउन सक्छ।

अहिले अंकतालिकाको दोस्रो स्थानमा रहेको स्कटल्यान्डको नेट रनरेट +१.५७५ छ। स्कटल्यान्डसँगै चार अंक रहेको थाइल्यान्डको भने नेट रनरेट –०.२८६ छ। तर, नेपालको नेट रनरेट –०.३२८ छ। यही ठूलो अन्तरका कारण नेपालको नेट रनरेट स्कटल्यान्डभन्दा माथि पुर्‍याउन कम्तीमा ३९ रनको जित आवश्यक पर्ने हुन्छ।

यति ठूलो अन्तरले जित निकाल्नु असम्भव त होइन, तर अत्यन्तै चुनौतीपूर्ण रहेको पूजा स्विकार्छिन्। तर, जिम्बाबेविरुद्ध हात परेको नतिजाले उनी हौसिएकी छन्।

पछिल्ला खेलहरूको तुलनामा अहिले नेपाली टोलीले केही सुधार गरेका कारण जित सम्भव भएको मुख्य प्रशिक्षक हर्षल पटेल बताउँछन्।

“यु-१९ मा हामीले पाकिस्तानलाई हराएका थियौँ। अहिले जिम्बाबेलाई हरायौँ। त्यसैले अन्य टोलीलाई पनि हराउन सक्छौँ भन्ने हिम्मत जुटेको छ,” उनी भन्छिन्।

पहिलो भेट

नेपाल र स्कटल्यान्ड पहिलोपल्ट सिनियर स्तरमा भिड्न लागेका हुन्। तर, पूजा र रिया शर्मा स्कटल्यान्डसँग दोस्रोपल्ट मैदान उत्रिने तयारीमा छन्। गत वर्षको २० जनवरीमा श्रीलंकाको बांगीमा भएको आईसीसी महिला यु–१९ विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा यी दुई राष्ट्र भिडेका थिए।

जिम्बाबेविरुद्ध ब्याटिङ गरिरहेकी पूजा महतो। उनले उक्त खेलमा अविजित ५२ रन बनाएकी थिइन्। तस्बिर : क्यान

उक्त खेलमा पूजाको कप्तानीमा रहेको नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो। खेलमा पूजाले ४३ बलमा तीन चौकासहित २७ रन बनाएकी थिइन्। बलिङमा पनि एक विकेट लिएकी थिइन्। उक्त जितसँगै स्कटल्यान्डले सुपर सिक्समा स्थान बनाएको थियो। हारसँगै पहिलोपल्ट विश्वकप खेलिरहेको नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो।

त्यस हारको पीडा पूजा र रियामा अझै छ। त्यही कारण सोमबार हुने खेललाई नेपालले ऐतिहासिक बनाउने मात्र होइन, बदला लिने हिसाबमा पनि हेरिरहेका छन्।

पछिल्ला खेलहरूको तुलनामा अहिले नेपाली टोलीले केही सुधार गरेका कारण जित सम्भव भएको मुख्य प्रशिक्षक हर्षल पटेल बताउँछन्। “सुपर सिक्समा पुग्ने राम्रो सम्भावना छ। यो धेरै हदसम्म स्कटल्यान्डविरुद्धको खेल र अन्य टोलीको नतिजामा पनि भर पर्छ,” पटेल भन्छन्, “हामीले हाम्रा कमजोरीहरूलाई छिटै सुधारेर अर्को खेलमा फ्रेस भएर उत्रनुपर्नेछ।”