दृष्टिकोण
सबैले राजनीति नै गर्नुपर्छ भन्ने गलत भाष्यबाट संक्रमित आजको राजनीतिमा प्रमुख चिन्ता के हो भने नयाँ नेता पनि पुरानाजस्तै सत्तालिप्सामा नफसून् भन्ने हो।
राजनीतिक दलहरूको लक्ष्य जनताको सेवा हुनुपर्ने हो। तर हाम्रा दलहरूमा भने सत्ताको बागडोर नै अन्तिम सत्य बनेको छ। यही सत्ताको खेलका कारण नेपाली राजनीतिले स्थिरता पाउन सकेको छैन। देशमा समय–समयमा भएका जनआन्दोलनपछि स्थापित दल तथा नेतृत्वप्रति जनविश्वास नभएको होइन। तर सत्तामोह र विकासप्रतिको बेवास्ताका कारण कुनै समय राष्ट्रिय गौरव बोकेका दलहरू आज आफ्नो अस्तित्व जोगाउने जोखिममा पुगेका छन्।
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपाली कांग्रेस लोकप्रियताको उचाइमा थियो। तर २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि कांग्रेस भूमिगत हुन बाध्य भयो। त्यसपछिका ३० वर्ष प्रजातन्त्र पुनर्स्थापनाका लागि कहिले सशस्त्र त कहिले शान्तिपूर्ण आन्दोलन गरेको कांग्रेसले प्रजातन्त्रकामी जनतामाझ आफ्नो प्रतिष्ठा उच्च राखेको थियो। यही बलमा २०४८ सालमा बहुमत ल्याएको कांग्रेस सत्तामा पुगेपछि देश विकासलाई प्राथमिकता दिनुको साटो नेतृत्वले आफ्नो कुर्सी जोगाउने खेलमै अल्झियो। कांग्रेस अलोकप्रिय बन्दै गएपछि जनताले नेकपा (एमाले)लाई विश्वास गरे र जिताए।
कार्ल मार्क्सले भनेका छन्- जब मानिस चरम शोषणमा पर्छ, ऊ कंगाल अवस्थामा पुग्छ। उसँग गुमाउन ज्यानबाहेक केही हुँदैन, जिउनलायक जीवन पनि हुँदैन। यस्तो अवस्थामा ऊ क्रान्तिमा होमिनुबाहेक अन्य विकल्प देख्दैन। क्रान्तिमा होमिएपछि या त उसले मृत्यु पाउँछ, या मुक्ति। यही अवस्थाबोधका कारण धेरै दलित, जनजाति, गरिब र निमुखाहरू माओवादी युद्धमा होमिए र एक प्रकारको सफलता पनि प्राप्त गरे। तर माओवादी नेतृत्वमा सत्तामोह, आन्तरिक कलह र ‘क्रान्तिको नाममा जे गर्दा वा बोल्दा पनि हुन्छ’ भन्ने प्रवृत्ति हाबी हुँदै गयो।
‘जुन जोगी आए पनि कानै चिरेका’
२०६२/६३ को जनआन्दोलनपछि माओवादी निर्वाचनमार्फत सरकारमा पुगे। उनीहरूबाट जनताले ठूलो आशा गरेका थिए। देशले काँचुली फेर्ला भन्ने सपना देखिएको थियो। तर ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेजस्तै भयो। जनताले प्रत्यक्ष राहत महसुस गर्ने विकास त परै जाओस्, यो वा त्यो बहानामा जनतालाई भ्रममा राख्दै सत्तालिप्सामै केन्द्रित हुन थाले। अन्ततः १७ हजारभन्दा बढी नेपालीको बलिदानबाट स्थापित माओवादी पार्टी नै हराएर गएको छ।
प्रायः सबै राजनीतिक पार्टीमा स्वेच्छाचारिता हावी देखिन्छ। जनतालाई झुक्याउनेबाहेक खासै केही गरेको पाइँदैन। यहाँसम्म कि राजनीतिमा लागेपछि सबै किसिमका अपराधबाट समेत छुट पाइन्छ भन्ने नजिरसमेत स्थापित भएको छ। पार्टीहरू मात्र होइन, राज्यका प्रमुख अंग मानिने प्रशासन, कर्मचारीतन्त्र र न्यायालयप्रति समेत जनविश्वास गुमेको छ।
तर जेन–जी आन्दोलनपछि बनेका दलहरू साँच्चिकै देशप्रेमकै कारण गठन भएका हुन् त? गरिबी उन्मूलन, भ्रष्टाचार निवारण, सुशासन र राष्ट्रिय हितकै लागि खोलिएका हुन् त? उत्तर स्पष्ट छैन।
२३ र २४ भदौको जेन–जी आन्दोलनपछि धेरै नयाँ पार्टी उदाएका छन्। नेपाली राजनीतिक वृत्तमा नयाँ दल जन्मिनु नौलो कुरा होइन। तर जेन–जी आन्दोलनपछि बनेका दलहरू साँच्चिकै देशप्रेमकै कारण गठन भएका हुन् त? गरिबी उन्मूलन, भ्रष्टाचार निवारण, सुशासन र राष्ट्रिय हितकै लागि खोलिएका हुन् त? उत्तर स्पष्ट छैन। किनकि आफ्नो बहुमत आउँदैन भन्ने जान्दाजान्दै २१ फागुनको चुनावमा यी दलहरू होमिनुको उद्देश्य अब बन्ने सरकारमा सानो–तिनो भाग पाउने चाहना नै हो। यसका लागि उनीहरू पनि गठबन्धनको पुरानै ढर्रामा जान्छन् भन्नु गलत हुँदैन।
अर्को हास्यास्पद कुरा के भने, संक्रमणकाल पार गर्न गठित मन्त्रिमण्डलका केही व्यक्ति जेन–जी आन्दोलनले दिएको दायित्व बिर्सिएर धमाधम चुनावमा होमिएका छन्। उनीहरूलाई सत्ताको नशाले मोहित बनाएको सहजै बुझ्न सकिन्छ। नत्र उनीहरू जे उद्देश्यका लागि मन्त्री बनाइएका थिए, त्यो पूरा गरेर आफ्ना पेशागत काममा फर्किनुपर्ने थियो।
विकास र सामाजिक रूपान्तरणका लागि राजनीतिक पार्टीमै आबद्ध हुनुपर्छ वा दल खोल्नैपर्छ भन्ने छैन। दलविहीन भएर पनि देश र जनताका लागि धेरै गर्न सकिन्छ।
स्वतन्त्र नागरिकको हैसियतले ‘म के योगदान गर्न सक्छु’ भन्ने सोचसहित हरेक नागरिकले आफ्नो दायित्व पूरा गर्न थाले देशको कायापलट हुन धेरै समय लाग्दैन।
उदाहरणका लागि, रेडक्रसका संस्थापक स्वीट्जरल्यान्डका हेनरी ड्युनाँको मानवतावादी भावनाले आज पनि संसारलाई सहयोग गरिरहेको छ। मदर टेरेसाको अथक सेवाले स्वास्थ्य र सम्मानको क्षेत्रमा विश्वलाई मार्गदर्शन गरिरहेको छ। अमर्त्य सेनको मानव क्षमतामा आधारित विकास दृष्टिकोणले विकासलाई नयाँ कोणबाट बुझ्ने बाटो दिएको छ। बाङ्लादेशका नागरिक सरकारका प्रमुख मोहम्मद युनुसका ग्रामीण बैंक, लघुवित्त र महिला सशक्तीकरणका अभियानले देशको विकासमा महत्वपूर्ण योगदान दिएका छन्। राजनीति नगरी हुँदैन वा राजनीतिक दलमै लाग्नुपर्छ भन्ने गलत मानसिकता बोकेकाहरूले उनीहरूबाट सिक्नुपर्छ।
स्वतन्त्र नागरिकको हैसियतले ‘म के योगदान गर्न सक्छु’ भन्ने सोचसहित हरेक नागरिकले आफ्नो दायित्व पूरा गर्न थाले देशको कायापलट हुन धेरै समय लाग्दैन।
पछिल्ला दुई दशक फर्केर हेर्ने हो भने शेरबहादुर देउवा, माधवकुमार नेपाल, केपी शर्मा ओली र पुष्पकमल दाहाल कम लोकप्रिय नेता थिएनन्। राणा शासन, पञ्चायती व्यवस्था र गणतन्त्रको अन्त्य तथा स्थापनामा उनीहरूको योगदान नकार्न मिल्दैन। तर सत्ताप्रतिको मोह र जनअपेक्षाको बेवास्ताका कारण आज उनीहरू प्रतिरक्षात्मक अवस्थामा पुगेका छन्।
फेरि त्यस्तो नहोस्!
चिन्ता भोलिको हो। आज चर्चामा रहेका केही नयाँ राजनीतिक पात्रको नियति पनि पुरानै नेताहरूको जस्तो नहोस् भन्ने हो। उनीहरू सत्ताको चास्नीमा नडुबून्, आफ्नो छवि र जनविश्वास जोगाउँदै देशलाई शिरमा राखेर सेवा गरून् भन्ने हो।
२०४६ को जनआन्दोलन, २०५२ सालमा सुरु भएको दशक लामो माओवादी हिंसा, २०६२/६३ को गणतन्त्र आन्दोलन, दुईवटा मधेस आन्दोलन र अहिलेको जेन–जी आन्दोलन, देशले यी सबै देखिसकेको छ। धेरैले बलिदान दिएका छन्, अंगभंग भएका छन्, अथाह सम्पत्तिको क्षति भएको छ।
अब भन्नैपर्छ, जेन–जी आन्दोलन नै यो पुस्ताका लागि अन्तिम आन्दोलन बन्नुपर्छ। प्रत्येक दशक आन्दोलन सहने क्षमता नेतासँग होला, तर देश र जनतासँग छैन। यस्ता आन्दोलनले राहत होइन, आघात दिन्छन्। उपलब्धि केही मिल्ला, तर त्यसको घाउ पुरिन समय लाग्छ।
यदि आन्दोलन गर्नै हो भने अब मान्छे मार्ने होइन, सम्पत्ति जलाउने होइन निर्माणको आन्दोलन गर्नुपर्छ, आर्थिक उन्नयनको आन्दोलन गर्नुपर्छ र सबै किसिमका विभेद अन्त्य गर्ने दिशामा अघि बढ्नुपर्छ।
विश्वकर्मा समाजशास्त्रका उप–प्राध्यापक हुन्।