काठमाडौँ। निर्देशक दिनेश राउतको चलचित्र ‘कुमारी’ यही २३ माघदेखि देशभरका सिनेमा घरमा प्रदर्शन हुँदै छ।
प्रदर्शनको पूर्वसन्ध्यामा उनले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्स्निस्टहरूलाई पत्राचार गर्दै चलचित्रको ध्वनि गुणस्तरबारे प्राविधिक जानकारी गराएका छन्।
चलचित्र ‘कुमारी’ लाई अत्याधुनिक इमर्सिभ फर्म्याटमा साउन्ड मिक्सिङ गरिएको छ। दर्शकले Dolby Atmos, DTS:X र AuroMax जस्ता उच्च प्रविधि जडित हलहरूमा पूर्ण सिनेम्याटिक अनुभव लिन सकुन् भन्ने उद्देश्यले चलचित्रको साउन्ड डिजाइन गरिएको निर्माण पक्षले जनाएको छ।
निर्देशक राउतका अनुसार चलचित्रको साउन्ड मिक्सिङ र मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट ५.५ मा गरिएको छ। ध्वनिको ‘डाइनामिक्स’ सुरक्षित राख्न र दर्शकलाई वास्तविक ध्वनिको महसुस गराउन यो स्तर कायम गरिएको हो।
निर्माण टोलीले सिनेमा हलहरूमा प्रदर्शनपूर्व नै ५.५ फेडर युनिटमा ट्रायल शो सम्पन्न गरिसकेको जनाएको छ। चलचित्रको प्रभावकारी प्रस्तुतिमा कमी नआओस् भन्नका लागि हलहरूलाई ५.५ भन्दा कम भोल्युम युनिटमा चलचित्र प्रदर्शन नगर्न अनुरोध गरिएको निर्देशक राउतले बताए।
“हामीले रचनात्मक रूपमै ५.५ फेडर युनिटलाई आधार मानेर काम गरेका हौँ। दर्शकले उत्कृष्ट अनुभव प्राप्त गरून् भन्नका लागि व्यावसायिक प्रदर्शन अघि एकपटक अनिवार्य टेस्ट रन गरिदिन हामी आग्रह गर्दछौँ,” पत्रमा लेखिएको छ।
अभिषेक खड्का र आकृति राजभण्डारीको मुख्य अभिनय रहेको तथा महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई लिएर दर्शक र प्रदर्शक दुवैमा उत्साह देखिएको छ।
