प्रतिनिधिसभा निर्वाचन
निर्वाचन आयोगलाई विवरण बुझाउनेमध्ये प्रत्यक्षतर्फ ३९ जना विद्यावारिधीधारी, बर्चस्व एसएलसी उत्तिर्णको
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूको क्षेत्र, जाति, उमेर, लैङ्गिक स्थितिबारे मतदातालाई थाहै हुनुपर्छ। तर, उम्मेदवारहरूको शैक्षिक योग्यता कति होला? यसबारे धेरैलाई थाहा नहुन सक्छ।
त्यो किन पनि भने निर्वाचन कानूनले उम्मेदवार बन्न शैक्षिक योग्यताको छेकबार लगाएको छैन अर्थात् धेरै पढेको वा साक्षर व्यक्तिले पनि उम्मेदवारी दिनसक्ने व्यवस्था छ। तर, निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरणमा शैक्षिक योग्यता उल्लेख गर्न अनुरोध भने गरेको हुन्छ, जसलाई बाध्यकारी होइन, ऐच्छिक मानिएको छ।
आसन्न निर्वाचनमा प्रत्यक्षतर्फका ६६ राजनीतिक दलका तीनहजार ४०६ उम्मेदवार चुनावमा प्रतिस्पर्धी छन्। यीमध्ये २ हजार ६०८ जनाले (७१.३ प्रतिशत)ले निर्वाचन आयोगको विवरणमा आफ्नो शैक्षिक योग्यता उल्लेख गरेका छन् भने ९७९ (२८.७ प्रतिशत) ले यो विवरणलाई आवश्यक ठानेका छैनन्।
आयोगमा बुझाएको विवरणका आधारमा यो निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमा उठेकामध्ये ३९ जना विद्यावारिधी (पिएचडी) प्राप्त उम्मेदवार चुनावमा होमिएका छन्, जसमा चारजना महिला छन्। साथै ६ जना उम्मेदवारले एमफिल गरिरहेको आयोगमा बुझाएको व्यक्तिगत विवरणमा उल्लेख गरेका छन्।
आफ्नो शैक्षिक योग्यता खुलाउनेमध्ये अधिकांश त्रिभुवन विश्वविद्यालयबाटै पढेका छन्। उम्मेदवारले आयोगसँगको फारममा ‘उपर्युक्त अनुसारको मेरो वैयक्तिक विवरण ठीक साँचो हो। यो विवरण निर्वाचन आयोगबाट सार्वजनिक गर्न मेरो सहमति रहेको छ’ भन्नेमा व्यक्तिगत सहमति जनाउँदै फाराम भरेका हुन्।
रोचक चाहिँ के छ भने विद्यावारिधी गरेका सबैभन्दा धेरै उम्मेदवार कुनै पनि पार्टीमा संलग्न नभइकन स्वतन्त्र बनेर चुनाव उठेका छन्।
आयोगमा विवरण बुझाएका उम्मेदवारहरूमा २७४ जना (८ प्रतिशत)ले स्नातकोत्तर गरेका छन्। यसैगरी ५०० (१४ प्रतिशत) जनाले स्नातक सिध्याएका छन्। प्रवीणता प्रमाणपत्र वा १२ उत्तीर्ण गरेका गरेकाहरू ५९५ (१७ प्रतिशत) जना छन् भने एसएलसी वा एसइई सकेका ६२१ (१८ प्रतिशत) जना छन्। एसएलसीभन्दा कम पढेका उम्मेदवारको संख्या १०५ (३ प्रतिशत) रहेको छ। उम्मेदवारमध्ये २८८ (८.५ प्रतिशत) जनाले आफूलाई साक्षर मात्र भनेर परिचित गराउन चाहेका छन्।
तर, यहाँ बिर्सन नहुने कुरा के छ भने आयोगमा व्यक्तिगत विवरणमा विद्यावारिधि नै गरेका कतिपय उम्मेदवारले पनि शैक्षिक योग्यता उल्लेख गरेका छैनन्। उदाहरणका लागि मोरङ २ का नेपाली कांग्रेसका उम्मेदवार मिनेन्द्र रिजाल, कञ्चनपुर ३ का एमालेका उम्मेदवार दीपकप्रकाश भट्ट र काठमाडौं –४ का एमालेकै उम्मेदवार राजन भट्टराईले विद्यावारिधी गरेर पनि विवरणमा उल्लेख गरेका छैनन्। यस्तै आफ्नो शैक्षिक योग्यता हुँदाहुँदै उल्लेख नगर्ने अन्य उम्मेदवार पनि हुनसक्ने देखिन्छ।
रोचक चाहिँ के छ भने विद्यावारिधी गरेका सबैभन्दा धेरै उम्मेदवार कुनै पनि पार्टीमा संलग्न नभइकन स्वतन्त्र बनेर चुनाव उठेका छन्। उनीहरूमा झापा–२ बाट युवराज संग्रौला, खोटाङ–१ बाट राजकुमार राई, उदयपुर–१ बाट देवराज रोका, काठमाडौं–१ बाट शम्भु पोखरेल, काठमाडौं–३ बाट सुरेशकुमार ढुंगाना, काठमाडौं–७ बाट शर्मिला फुयाँल, काठमाडौं–९ बाट पञ्चकुमारी मानन्धर, ललितपुर–१ बाट धर्मराज बोहरा, सिन्धुपाल्चोक–२ बाट विजु श्रेष्ठ, कास्की २ बाट निरञ्जन कोइराला छन्।

निर्वाचन आयोगमा विद्यावारिधीको शैक्षिक योग्यता उल्लेख गर्नेहरूमा कांग्रेसका तर्फबाट नुवाकोट–१ बाट प्रकाशशरण महत, महोत्तरी–१ बाट मुकेशराज काफ्ले, काभ्रे–१ बाट गुणराज मोक्तान, गुल्मी–१ बाट चन्द्रकान्त भण्डारी र प्युठान–१ बाट गोविन्दराज पोखरेल छन्।
एमालेबाट संखुवासभा–१ का अर्जुनकुमार कार्की र काठमाडौं –९ का अजयक्रान्ति शाक्यले मात्र विद्यावारिधी योग्यता खुलाएका छन्। आयोगमा यो योग्यता उल्लेख गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ बाट स्वर्णीम वाग्ले, रामेछाप–१ बाट कृष्णहरि बुढाथोकी, सर्लाही –४ बाट अमरेशकुमार सिंह, नुवाकोट–२ बाट अचुत्तम लामिछाने, स्याङजा–१ बाट धनञ्जय रेग्मी, डडेल्धुरा १ बाट ताराप्रसाद जोशी छन्। रास्वपाबाटै रुपन्देही १ मा उम्मेदवारी दिएका सुनिल लम्सालले विद्यावारिधी गरिरहेको उल्लेख गरेका छन्।
विद्यावारिधी गरेको विवरण सार्वजनिक गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं–३ का उम्मेदवार सुन्दरराम बोहरा, जनता समाजवादी पार्टीबाट सप्तरी–४ की उम्मेदवार वाँवी सिंह, धनुषा–४ का उम्मेदवार कृष्णचन्द्रप्रसाद साह र सर्लाही–३ का उम्मेदवार जयप्रकाश राय पनि छ।
यसैगरी जनमत पार्टीबाट सप्तरी–२ मा उम्मेदवारी दिएका चन्द्रकान्त राउत र धनुषा–२ का सुरेन्द्रप्रसाद यादव र उज्यालो नेपाल पार्टीतर्फबाट सप्तरी–१ का दिपक चौधरीले पनि विद्यावारिधीको जानकारी आयोगलाई बुझाएका छन्। नेपाली कम्युनिष्ट पार्टीबाट चितवन–१ बाट कृष्णराज पन्त, हुम्ला–१ बाट दीपेन्द्र रोकाया, नवलपरासी पश्चिमबाट सिन्धु जलेसा बुढाथोकीले पनि विद्यावारिधी सकेका छन्। मितेरी पार्टीबाट सुनसरी–१ का उम्मेदवार रक्षकुमार राईले विद्यावारिधी सकेका छन् ।