विकास
विगतमा १७ मेगावाट बिजुली आपूर्ति हुने कर्णालीका ९ जिल्लामा अब २०० सय मेगावाट बिजुली
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन निर्माण सम्पन्न भएपछि कर्णालीबासीले थप बिजुली उपयोग गर्न पाउने भएका छन्। विगतमा १७ मेगावाट मात्र बिजुली पाएका कर्णाली प्रदेशका नौ जिल्लाका बासिन्दाले अब २०० मेगावाटसम्म विजुली पाउने छन्। यसले स्थानीयहरूको आँखामा बेग्लै चमक देखिन थालेको छ। “झण्डै ४ दशकदेखि हामी पुरानो कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइनबाट हैरानी खेपिरहेका थियौं। १३२ केभीए विद्युत प्रसारण लाइन जोडिएपछि राहत महशुस भएको छ,” वीरेन्द्रनगर होटल व्यवसायी संघका अध्यक्ष तर्कबहादुर शाही भन्छन्।
सुर्खेतको सुब्बाकुनास्थित सव–स्टेशनको निर्माणको काम १८ माघमा सम्पन्न भएको हो। “सुख्खा र गर्मीयाममा हामीले जेनेरेटरका लागि इन्धन मौज्दात राख्नु पर्ने बाध्यता थियो। बत्ति आउने र जाने समस्याले हैरान थियौं,” उनी भन्छन्, “अब ठूलो प्रसारण लाइन सुचारु भएपछि पर्याप्त बिजुली पाउने भएका छौं।”
कर्णालीका अधिकांश जिल्लामा यसअघि विद्युत आपूर्ति गर्दै आइरहेको कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन २०४५ सालमा निर्माण भएको हो। तत्कालिन राजा वीरेन्द्रको सुर्खेत भ्रमण तय भएपछि हतारहतार सुर्खेतमा सिटी पोल (सानो) मार्फत विजुलीको लाइन ओछ्याएको थियो।
पहिले सुर्खेत उपत्यका बाहेक अन्य जिल्लामा विद्युत आपूर्ति गरिएको थिएन। वीरेन्द्रनगरको जनघनत्व पनि थोरै थियो। ३३ केभीएले विजुलीको मागलाई धानेको थियो। तर, विस्तारै कर्णालीका पहाडी जिल्लामा पनि विद्युत आपूर्ति विस्तार हुँदै गएपछि विद्युत अभाव हुने गरेको थियो।

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनअन्तर्गत सुर्खेत सवस्टेशनमा रहेको इक्वीपमेन्टहरु।
कोहलपुरदेखि सुर्खेतसम्मको ३३ केभीए प्रसारण लाइनको अधिकांश भाग राष्ट्रिय निकुञ्जमा थियो। यस कारण पानी पर्दा र हावा चल्दा रुखका हाँगा खसेर लाइन अवरुद्ध हुने थप समस्या थियो। तर, अब सुर्खेतसम्म सुचारु गरिएको १३२ केभीए प्रसारण लाइनले दुई सय मेगावाट बिजुली आपूर्ति गर्छ। यसले अब ‘लो भोल्टेज’ को समस्याबाट पनि छुटकारा दिएको छ। कोहलपुर सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइन आयोजनामा संलग्न इन्जिनियर हितेश जैसवाल भन्छन्, “विगतमा २५–२६ भोल्ट विद्युत उपभोक्तासम्म पुगेकोमा अब ३२ देखि ३३ भोल्टसम्म पुग्ने छ।”
६ बर्ष लम्बिएको आयोजना
कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइनको काम सम्झौता बमोजिम हुन सकेको भए चार बर्षको अन्तरालमै सम्पन्न हुन्थ्यो। प्रसारण लाइन निर्माणका लागि २०७७ भदौमा सम्झौता भएको हो। सम्झौंता अनुसार भारतीय निर्माण कम्पनी ‘आरएस इन्फ्रा–प्रोजेक्ट’ ले २०७९ भदौमा प्रसारण लाइन निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने थियो। तर, बर्दिया राष्ट्रिय निकुञ्जमा रुख कटान र जग्गा प्राप्तिमा झमेला उत्पन्न भएकोले तोकिएको समयमा आयोजना सकिएन । यसै कारण आयोजना सकिन साढे ३ बर्ष ढिलो भएको हो ।
प्रसारण लाइन निर्माणको काम ढिला भए पनि वीरेन्द्रनगरमा सव–स्टेशन बनाउने जिम्मा पाएको नेपाल हाइड्रो लिमिटेडले भने समयमै काम पूरा गरिसकेको थियो। उसले २०८१ माघभित्रै सव–स्टेशनमा सबै ट्रान्सफर्मर जडान गरेको थियो। “डिपिआर गर्दा आयोजना क्षेत्रभित्र ८ हजार रुख काट्नुपर्ने उल्लेख थियो। ठेक्का हुँदासम्म थप ६ हजार कटान गर्नुपर्ने अवस्था आयो। जम्मा १४ हजार रुख कटान गर्नुपर्ने प्रतिवेदन पास गरेर मन्त्रिपरिषद्बाट स्विकृति लिन गाह्रो पर्यो,” आयोजना प्रमुख रविकुमार चौधरी बताउँछन्।
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन नेपालले आफ्नै लगानीमा बनाएको हो। यसमा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी छ।
यसअघि प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने निजी जग्गाधनीले सरकारी दर अनुसारको मुआब्जा लिन अस्विकार गरेपछि थप समस्या सृजना भएको थियो। कोहलपुरदेखि वीरेन्द्रनगरसम्म मुख्यगरी चार ठाउँ: बाँकेमा बानियाभार र गाभर, सुर्खेतमा छिन्चु र वीरेन्द्रनगरमा जग्गा विवाद थियो। सुर्खेततर्फको जग्गा विवाद सहजै समाधान भए पनि बाँके क्षेत्रका स्थानीय भने अदालत पुगे। अदालतले आयोजना निर्माणमा बाधा नपुग्नेगरि सहजीकरण गर्न आदेश गरेपछि मात्र प्रसारण लाइनको अवरुद्ध काम अघि बढेको हो। “६ बर्षको दौरान कोरोना कहर, जग्गा प्राप्ति र रुख कटान जस्ता समस्या खेप्नु पर्यो। चुनौतीका बीच प्रसारण लाइन सम्पन्न गर्न सफल भएकोमा खुसी छौं,” चौधरी भन्छन्।
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन नेपालले आफ्नै लगानीमा बनाएको हो। यसमा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी छ। आयोजनाको कुल लागत एक अर्ब ४५ करोड हो कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणमा ७० करोड र सव–स्टेशन निर्माणमा ७५ करोड खर्च भएको छ। यो प्रशारण लाइनको प्रत्यक्ष लाभ कर्णाली प्रदेशका नौ जिल्ला सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, जुम्ला, दैलेख र मुगुलाई हुनेछ।

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन।
कोहलपुरदेखि सुर्खेतसम्म हाइभोल्टेज विद्युत लाइन बनेपछि उपभोक्तालाई सहज हुने आयोजना प्रमुख चौधरी बताउँछन्। भन्छन्, “३३ केभीए प्रसारण लाइन हुँदा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बारम्बार विद्युत आपूर्ति अवरुद्ध हुने र भोल्टेज नपुग्ने समस्या थियो। यसको अभावमा कर्णालीमा भएका साना जलविद्युत आयोजनाको विद्युत खेर जाने अवस्था थियो। अब यसको अन्त्य भएको छ।”
इञ्जिनियर हितेश जैसवाल पनि सुर्खेतस्थित सव–स्टेशनमा चार वटा लाइनफिडर रहेको र तीमध्ये दुई वटाले कोहलपुरतर्फ र दुइ वटाले दैलेखतर्फ विद्युत प्रसारण गर्ने बताउँछन्। “सव–स्टेशनमा ३० एमबीए क्षमताका दुई वटा ट्रान्सफर्मर छन्। उक्त सव–स्टेशनबाट चार वटा फिडरमार्फत ३३ केभीए सव–स्टेशनमा विद्युत वितरण गरिने छ।”
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सुर्खेतमा १३२ केभीए क्षमताको गुणस्तरीय विद्युत पुगेसँगै उद्योगमा लगानी बढ्ने अपेक्षा गरे। विद्युत गुणस्तर नभएकै कारण प्रदेशमा ठूला उद्योग विस्तार हुन सकेका थिएनन्। “हामीले केही समयअघि सुर्खेतमा सबैभन्दा धेरै विद्युत खपत गर्ने उपभोक्तालाइ सम्मान गर्ने कार्यक्रम गरेका थियौं, त्यो बेला एक जना मात्र उद्योगी त्यस समूहमा पर्नुभएको थियो। बाँकी सबै सामुदायिक उपभोक्ता हुनुहुन्थ्यो,” प्रसारण लाइनको अवलोकन गर्न आइतबार सुर्खेत आइपुगेका शाक्य भन्दै थिए, “विद्युतको गुणस्तर राम्रो नभएकोले विद्युत खपत गर्ने उद्योग पनि स्थापना नभएको हुनसक्छ, अब १३२ केभीए प्रसारण लाइन पुगेपछि उद्योगको स्थापना तथा स्तरोन्नतिमा पनि सुधार आउने अपेक्षा गरेको छु।”
लाइन विस्तारका लागि रुख कटानको अनुमति भने आइसकेको छैन। रुख कटान गर्नु नपर्ने क्षेत्रमा टावरहरू निर्माण भइसकेको आयोजना प्रमुख चौधरी बताउँछन्।
१३२ केभीए विद्युत प्रसारण लाइन अबको एक बर्षमा दैलेखसम्म पुर्याउने योजना छ। सुर्खेतमा रहेको १३२ केभीए प्रसारण लाइन आयोजना कार्यालयकै मातहतमा सुर्खेत–दैलेख १३२ केभीए प्रसारण लाइनको गृह कार्य अगाडि बढाईएको हो। प्रसारण लाइनको कुल लागत एक अर्ब ३० करोड छ।
सुर्खेतदेखि दैलेखको चुप्रासम्म प्रसारण लाइन निर्माणका लागि ७५ करोडको ठेक्का सिग्माकम तथा एमएसपीएल जेभीले लिएका छन्। लाइन विस्तारका लागि रुख कटानको अनुमति भने आइसकेको छैन। रुख कटान गर्नु नपर्ने क्षेत्रमा टावरहरू निर्माण भइसकेको आयोजना प्रमुख चौधरी बताउँछन्। “रुख कटानका लागि विभागमा प्रतिवेदन पेश गरेका छौं, अनुमति पाइएको छैन,” उनी भन्छन्, “अबको एक बर्षभित्र दैलेखसम्म प्रसारण लाइन पुर् याउने योजना छ। हेरौं काम कसरी सकारात्मक रुपले अगाडि बढ्छ।”

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण आयोजनाको काम पूरा भएपछि अवलोकनकालागि आएका प्राधिकरणका कार्यकारी निर्देशक शाक्य (बाँयाबाट पहिलो) सहितको टोली।
दैलेखको चुप्रामा सव–स्टेशन निर्माणको काम पनि द्रुतगतिमा भइरहेको छ। सव–स्टेशन निर्माणको जिम्मा महाबिर श्री निर्माण कम्पनीले पाएको छ। यसको लागत ५५ करोड छ। हाल निर्माण भइरहेको सुर्खेत–दैलेख १३२ केभीए ‘डबल सर्किट’ विद्युत प्रसारण लाइन जुम्लासम्म पुर्याउने योजना छ। दैलेखदेखि कालीकोट हुँदै जुम्लासम्मको प्रसारण लाइन निर्माणका लागि आयोजना व्यवस्थापन निर्देशनालयबाट प्रक्रिया अघि बढेको कार्यकारी निर्देशक शाक्य बताउँछन्। “दैलेखभन्दा माथिको आयोजनाको लागि छुट्टै कार्यालय स्थापना हुनेछ,” उनी भन्छन्।
कोहलपुर–सुर्खेत र सुर्खेत–कोहलपुर प्रसारण लाइन नेपालको आफ्नै लगानीमा निर्माण हुने भएकाले प्रारम्भिक चरणमा सहज देखिन्छ। तर, दैलेख-जुम्ला आयोजनामा भने बाह्य नियम पालना गर्नुपर्ने कारण प्रक्रिया केही लम्बिन सक्ने उनी बताउँछन्। “दैलेखसम्मको काम नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा बन्ने छ। त्यसैले वातावरणीय प्रभाव मूल्याङ्कन जस्ता प्रारम्भिक प्रक्रियामा समस्या देखिदैन,” उनी भन्छन्, “तर, यसभन्दा माथिको काम एडिबी (एसियन विकास बैंक) को ऋण सहयोगमा बन्ने हो। यसले गर्दा वातावरणीय मूल्याङ्कनको बाह्य नियम पनि पालना गर्नुपर्ने हुन्छ।”