इतिहास
इमानसिंह चेम्जोङका लेखनीप्रति आँखा चिम्लेर विश्वास गर्नु उनीमाथिकै अन्याय हो।
इतिहासकारहरूले नेपालको इतिहासलाई विभिन्न काल निर्धारण गर्दा लिच्छविले शासन गरेको समयलाई प्राचीनकाल, मल्लहरूले शासन गरेको समयलाई मध्यकाल र पृथ्वीनारायण शाहले शासन गरेदेखि यताको समयलाई आधुनिककालका रूपमा विभाजन गरेका छन्।लिच्छविकालअघि गोपाल, महिषपाल र किरातहरूको शासन थियो भन्ने विभिन्न वंशावलीमा गरिएको वर्णनका आधारमा सङ्क्षिप्त रूपमा यिनलाई इतिहासमा समेट्ने गरिएको छ ।
इतिहासकार इमानसिंह चेम्जोङले भने किरात अवधारणालाई आफ्नो खोजीको मूल विषय वा क्षेत्रका रूपमा प्रस्तुत गर्दै सन् १९४८ मा सिक्किमको गान्तोकबाट किरात इतिहास पुस्तक ल्याएर इतिहास लेखनको क्षेत्रमा हस्तक्षेपकारी उपस्थिति जनाएका थिए। उनले खासगरी लिम्बू र उनीहरूको तिब्बती, सिक्किम र सेन राजवंशसँगको सम्बन्धलाई केलाउने प्रयास गरेका छन्। चेम्जोङले इतिहासकारका रूपमा उपस्थिति जनाइरहेका बेला नेपालमा राणा शासन उत्तरार्द्धमा पुगेको थियो।
त्यतिबेला नेपालमै बसेर इतिहासको खोजी गर्दा ‘अपराध’ मानिने युग थियो। मकैको खेती लेख्दा कृष्णलाल अधिकारीले कारावासमै मर्नुपर्नेदेखि पुस्तकालय स्थापना गर्न खोज्ने युवाहरूले दण्ड सजाय भोग्नुपर्ने अवस्था थियो। बाबुराम आचार्यले लेखेबापत राणाहरूबाट चर्को खप्की मात्रै होइन, जरिवानासमेत तिर्नुपरेको उनको जीवनीका विभिन्न प्रसङ्गहरूमा पढ्न पाइन्छ।
त्यही समयमा प्रवासमा रहेका नेपालीहरूमा आएको जागरणस्वरूप नेपाली इतिहास लेखनमा अम्बिकाप्रसाद उपाध्याय, सूर्यविक्रम ज्ञवाली तथा इमानसिंह चेम्जोङ प्रमुख रूपमा देखा परे। तीमध्ये उपाध्यायले पटनामा, ज्ञवालीले दार्जिलिङमा र चेम्जोङले सिक्किममा बसेर कलम चलाएका थिए।

राणा शासनको त्यो कठिनतम् समयमा नेपालमै रहेर इतिहास लेख्ने तोत्रराज पाण्डे र नयराज पन्तले २००४ सालमा नेपालको सङ्क्षिप्त इतिहास प्रकाशमा ल्याउनु एउटा असामान्य घटना थियो। त्यस्तो परिस्थितिमा अझ किरात अवधारणाबाट कलम चलाउने इतिहासकार चेम्जोङको प्राज्ञिक योगदानबारे केही चर्चा गर्न खोजिएको छ।
नेपाल आगमन
सन् १९०४ जनवरी १ मा कालिम्पोङको दूरविनडाँडामा जन्मेका इमानसिंह चेम्जोङको पुर्खा पाँचथरको आङसाराङबाट त्यहाँ पुगेका थिए।
जङ्गबहादुर राणाले इमानसिंहका हजुरबुबा पान्थरसिंहलाई त्यस समय राई, लिम्बूलाई मात्रै भर्ना गरिने भैरवनाथ दलमा नियुक्त गरेका थिए। पछि उनलाई पाँचथरमा सुब्बा बनाएर पठाइयो। बीरशमशेरको उदयपछि उनले जङ्गबहादुरको सन्तानलाई सखाप बनाउनुका साथै नियुक्ति पाएकाहरूमाथि पनि कोपभाजन सुरु गर्न थालेपछि पान्थरसिंह कालिम्पोङ पलायन भएका थिए।
सन् १९०४ जनवरी १ मा कालिम्पोङको दूरविनडाँडामै इमानसिंह जन्मिएका थिए। त्यही कालिम्पोङमै उच्च शिक्षा हासिल गरेर पढालेखा बौद्धिक व्यक्तित्वका रूपमा आफ्नो परिचय स्थापित गरी लेखन क्षेत्रमा सक्रिय उनी लिम्बू समाजका अगुवाहरूको बोलावटपछि २००९ सालमा नेपाल आएका हुन्। नेपाल आएपछि इलामको मालापथमा कार्यालय स्थापना गरेर इतिहास, संस्कृति, भाषा आदिको प्राज्ञिक अनुसन्धानमा आफूलाई समर्पित गर्न थालेका थिए।
उनी २०१५ सालको आमनिर्वाचनमा ‘नेपाल प्रजातान्त्रिक महासभा’ नामको राजनीतिक दल स्थापना गरी पाँचथरबाट निर्वाचनमा होमिएका पनि थिए।
इमानसिंहले ‘लिम्बूवान सुधार संघ’ संस्था स्थापना गरेर साङ्गठनिक काम पनि उनले सुरु गरेका थिए। उनलाई यो काममा तेजबहादुर प्रसाईंले ठूलो साथ दिएका थिए। चेम्जोङ संघको सभापति थिए भने प्रसाईं प्रधानमन्त्री (महासचिव) थिए। संघले २००९ सालमै तत्कालीन राजा त्रिभुवन वीर विक्रम शाहसँग भेट गरी विभिन्न माग प्रस्तुत गरेको थियो।
चेम्जोङको संसदमा जाने समेत इच्छा थियो। उनी २०१५ सालको आमनिर्वाचनमा ‘नेपाल प्रजातान्त्रिक महासभा’ नामको राजनीतिक दल स्थापना गरी पाँचथरबाट निर्वाचनमा होमिएका पनि थिए। तर नेपाली काङ्ग्रेसका गणेशप्रसाद रिजालबाट पराजित भए।
उनी पराजित हुनु नेपाली समाजका लागि ठूलो प्राज्ञिक उपलब्धि हुन पुग्यो। त्यसपछि उनले आफूलाई अध्ययन र लेखनतर्फ समर्पित गराए। फलस्वरूप उनीबाट खासगरी लिम्बू जातिले अमूल्य ग्रन्थहरू प्राप्त गरे। सोही कारण लिम्बूहरूले उनलाई सिरिजङ्गा र फाल्गुनन्दपछिको विभूतिका रूपमा सम्मान गर्ने गर्छन्।
बहुआयामिक व्यक्तित्व
किरात इतिहास, किरातकालीन विजयपुरको सङ्क्षिप्त इतिहास र हिस्ट्री एण्ड कल्चर अफ् किरात पिपल ले उनलाई बढी चिनाएकाले इमानसिंहको मूल व्यक्तित्व राजनीतिक इतिहासकारको रूपमा स्थापित छ। तर किरात वर्णमाला, किरात ब्याकरण, लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश, किरात साहित्यको इतिहास जस्ता ग्रन्थले उनको समर्पण भाषा, लिपि र साहित्यको क्षेत्रमा पनि उत्तिकै प्रबल रूपमा देखा परेको छ।
किरात मुन्धुम (किरातको वेद) र किरात मुन्धुम खाहुन को प्रकाशनले उनको विद्वत् आयाम मुन्धुमविदका रूपमा पनि देखा पर्छ।
२०१८ सालमा चेम्जोङको मुन्धुमसम्बन्धी पुस्तक प्रकाशन भएपछि त्यसैबाट प्रेरित भएर नेपाली भाषामा कविता लेखेर नाम कमाउँदै गरेका आयामेली कवि वैरागी काइँला मुन्धुम सङ्कलन, अध्ययन र लिप्यान्तरमा समर्पित हुन पुगेका थिए। चेम्जोङको किराती दन्त्यकथा प्रकाशनले लोकसाहित्यिक व्यक्तित्वको आलोकले नेपाली समाज उज्यालो हुन पुगेको थियो।
उनले तिब्बती, सिक्किमी, सेन र शाह राजाहरूले लिम्बूहरूलाई दिएका मोहरहरू सङ्कलन गरी त्यसलाई केलाई, निफनी तथ्य प्रस्तुत गर्ने यथासम्भव प्रयास गरेका छन्।
यिनै बहुआयामिक पौरख र विद्वताका कारण चेम्जोङले त्रिभुवन विश्वविद्यालयको तत्कालीन नेपाल तथा एसियाली अध्ययन संस्थान (इनासः हाल सिनास)मा लामो समयसम्म किरात विशेषज्ञ पदमा रहेर अनुसन्धान गरे। बेलायत पुगी तत्कालीन नेपालका लागि बेलायती रेजिडेन्ट ब्रायन हज्सनले नेपालबाट सङ्कलन गरेका महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज अध्ययन गरी प्रकाशमा ल्याए। उनले तिब्बती, सिक्किमी, सेन र शाह राजाहरूले लिम्बूहरूलाई दिएका मोहरहरू सङ्कलन गरी त्यसलाई केलाई, निफनी तथ्य प्रस्तुत गर्ने यथासम्भव प्रयास गरेका छन्। लिम्बूहरूको मौलिक लिपिका आविष्कारक सिरिजङ्गालाई जनस्तरमा परिचित गराउने काम पनि चेम्जोङले नै गरेका हुन्।
सीमान्तकृतका इतिहासकार
इटालीका साम्यवादी नेता तथा चिन्तक एन्तोनियो ग्राम्सीले आफू कारावासमा रहँदा लेखेको पुस्तक प्रिजन नोटबुक्स मा प्रयुक्त ‘सबाल्टर्न’ शब्द निकै चर्चित छ। ल्याटिन भाषाको ‘सब’ अर्थात् ‘तल्लो’ र ‘अल्टरनस’ अर्थात् ‘सबै अरु’ शब्द मिलेर ‘सबाल्टर्न’ शब्दको व्युत्पत्ति भएको हो। यो शब्द तल्लो दर्जाका सैनिकले पाउने पदलाई जनाउँछ।
भारतीय इतिहासकार रञ्जित गुहाले सबाल्टर्न शब्दले निम्न वर्गीय, सीमान्तकृत, गरीब, कमजोर र उपेक्षित जाति र समुदायको अर्थसमेत बोक्ने व्याख्या गरेर ‘तल्लो वर्गबाट इतिहास लेखौँ’ भन्ने आदर्शका साथ ‘सबाल्टर्न इतिहास दर्शन’ प्रतिपादन गरे। उनीलगायतका उनका सहयोगी इतिहासकारहरूले अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट ‘सबाल्टर्न अध्ययन शृङ्खला’ नै प्रकाशन गरे। अहिले सबाल्टर्न विचार र दर्शनको रूपमा स्थापित भइसकेको छ। यो दर्शनबाट नेपालमा पनि साहित्य र इतिहास लेखन हुन थालेको छ।

तर गुहाहरूले सबाल्टर्न दर्शनको व्याख्या गर्नुभन्दा तीन दशकअघि नै चेम्जोङले सीमान्तकृत समुदायको इतिहासलाई आफ्नो प्राज्ञिक साधनाको क्षेत्र बनाइसकेका थिए। सीमित स्रोतसाधन र बौद्धिक जागरण आइनसकेको त्यसबेला चेम्जोङले लगाएको बुद्धि र बगाएको पसिनाको मूल्य सामान्य छैन। उनको यही योगदानको समुचित मूल्याङ्कन गर्दै लिम्बूहरूले उनलाई विभूतितुल्य व्यवहार गर्छन्। ठाउँ–ठाउँमा ठडिएको उनको पूर्ण कद र अर्धकदको शालिक परिसरमा पुगी लिम्बूहरू माल्यार्पण गर्दै शिर झुकाउँछन्।
तर, मूलधारका भनिने इतिहासकारहरूले नेपाली इतिहासको क्षेत्रमा उनले गरेको योगदानको चर्चा गर्न खासै चासो देखाएका छैनन्।
जीवनभर प्राज्ञिक साधनामा समर्पित चेम्जोङले १९७८ अक्टोबर ८ मा देहत्याग गरे। उनको जीवनीलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुका साथै उनको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरेर नेपाल सरकारले उनको सम्मान गरेको छ। तर, मूलधारका भनिने इतिहासकारहरूले नेपाली इतिहासको क्षेत्रमा उनले गरेको योगदानको चर्चा गर्न खासै चासो देखाएका छैनन्। उदाहरणका लागि राजेश गौतमको पुस्तक इतिहास लेखनको इतिहास (२०५१) नै हेरौं। विडम्बना, ४१८ पृष्ठको यो पुस्तकमा इमानसिंह चेम्जोङको नाम कतै भेटिँदैन।
चेम्जोङका कमजोरी
इमानसिंह चेम्जोङका इतिहास लेखनीमा पनि प्रशस्तै कमजोरी भेटिएका छन्। उनले लिम्बूहरूलाई ‘सान मकवानी’ समूह भन्दै लिम्बूहरूको जातीय सम्बन्ध मकवानी सेनसँग जोडेका छन्। लिम्बूहरूको मुन्धुम फक्ताङलुङ हिमालको फेदी र तमोर नदीको शिरतिर घुम्छ र मुन्धुमले लिम्बूहरूलाई लुङजिरी लुङबोङबा साहा (ढुङ्गाको सन्तान), खामजिरी खाम्बोङ्बा साहा (माटोको सन्तान) भन्छ।
यता सेनवंशी राजाहरूले आफूलाई हिन्दुपति घोषणा गरेका थिए। उनीहरू दक्षिणतिरबाट हालको नेपालको सरहदभित्र प्रवेश गरेको अधिकांश इतिहासकारहरूले लेखेका छन्। लिम्बूहरूले आफूलाई यक (गढी)को अधिपति (तुम्बा) अर्थात् याक्थुङ्बा भन्छन्। तर दश याक्थुङ्बाले आठ याक्थुङ्बालाई धनुकाँडको बलले हराएकाले ली अर्थात् धनु र आबु अर्थात् हान्यो भन्ने आधारमा छैटौँ शताब्दीमा याक्थुङ्बाहरू लिम्बू कहलाएको भन्ने उनको मतको पनि त्यति बलियो आधार देखिँदैन।

चेम्जोङले कामदत्त सेन १८१८ सालमा विजयपुरका राजा भएका थिए भन्ने लेखेका छन्, तर पाँचथरका आङ्देम्बेहरूका पुर्खा कुम रायलाई राजा कामदत्तले १८०८ सालमै दिएको मोहरको सक्कल फेला परेको छ भने धनकुटा बुढिमोरङका इवा लिम्बूहरूसँग १८१४ सालमा उनीहरूको पुर्खालाई दिएको मोहर अहिले पनि सुरक्षित छ।
यस्तै चेम्जोङले विजयपुरका राजा महिपति सेनको राज्यकाल १७६३ देखि १७८२ सालसम्म भएको उल्लेख गरेका छन्। तर ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका चाँगे क्षेत्रका आङ्बुहाङ लिम्बूका पुर्खालाई महिपतिले प्रदान गरेको १७५४ साउन वदी ९ उल्लेख भएको मोहरको सक्कल नै फेला परेको छ।
आङबुहाङ र मेन्याङ्बोकी चेली थाङ्साङ्मालाई कामदत्त सेनले रानी बनाएको भन्ने चेम्जोङको लेखन पनि भरपर्दो छैन। बरू उनको विवाह विजयनारायण रायसँग भएको वंशावली प्राप्त भएको छ।
चेम्जोङले कठिनतम् परिवेशमा इतिहासमा कलम चलाएर हाम्रो आँखा खोलिदिएका हुन्, यसमा दुईमत छैन। तर, गल्तीहरू ढाकछोप गरियो भने उनकै प्राज्ञिक व्यक्तित्वमाथि अन्याय गरेको ठहर हुन्छ। त्यसैले चेम्जोङको इतिहास लेखनीमा पनि गम्भीर समीक्षा र पुनर्मूल्याङ्कन जरुरी भइसकेको छ।