दृष्टिकोण
भीडको राजनीतिमा लागेर विश्वका कति देशले अस्तित्व नै गुमाएका छन्, कति गहिरो भासमा फसेका छन्। हामी यसैको सँघारमा छौँ।
भोजपुर, दाँवामा जन्मेका र अहिले अमेरिकाका बासिन्दा शैलेश श्रेष्ठले जन्मभूमि आएका बेला एक भेटमा भनेका थिए, “दर्शनले राजनीति गर्ने युग सकियो, अबको राजनीति मुद्दामा आधारित हुन्छ ।”
उनले यसो भनिरहँदा लामो राजनीतिक संलग्नता नभएका व्यापारी डोनाल्ड ट्रम्प पहिलो पटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले ‘फेरि अमेरिका महान्’ नारा उराल्दै आप्रवासीविरुद्ध कठोर कदम चाल्ने उग्रराष्ट्रवादी नीतिहरू घोषणा गरेका थिए। समग्र अमेरिका आप्रवासीहरूको मुलुक रहेको स्विकार्ने हिलारी क्लिन्टन चुनाव हारेकी थिइन्। “दर्शन त परको कुरा भयो, पार्टी पनि अमेरिकीहरूका लागि केही होइन। उनीहरू तत्कालीन चुनावी मुद्दा हेर्छन् र भोट दिन्छन्। त्यसपछि पार्टीहरूलाई बिर्सिइदिन्छन्,” श्रेष्ठले सुनाएका थिए, “विकसित देशहरूमा यही ट्रेन्ड छ। नेपालमा मात्र दर्शनको कुरा धेरै हुन्छ।”
१० वर्षअघिको त्यो कुराकानीका बेला नेपालमा भर्खरै संविधानसभाबाट संविधान जारी भएको थियो। देशमा राजनीतिक स्थिरताको ठूलो आशा थियो। समृद्धि ल्याउला भन्ने विश्वासको सञ्चार भइरहेको थियो। तर नयाँ संविधान अनुसार भएका संघीय र प्रदेश निर्वाचनमा कुनै पनि दलले एकल सरकार बनाउने गरी बहुमत ल्याउन सकेनन्। चुनावी गठबन्धन चुनावपछि विघटन भए।
दलहरू कचिङ्गलमा फस्ने क्रम रोकिएन। सरकारहरू झन् झन् अस्थिर बने। संसद् विघटन र मुद्दा–मामिलामा देश फस्यो। आमजनताका आशा र विश्वास क्रमशः क्षयीकरण हुँदै गए। त्यसले दलहरूप्रति वितृष्णा र आक्रोश निम्त्यायो। फलस्वरूप २०७९ सालको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवार र नयाँ दलले आश्चर्यजनक रूपमा जनमत पाए। राजनीतिमा नयाँ र पुरानो भन्ने बहस शुरु भयो।
धेरैलाई चकित पार्ने गरी गत भदौमा भएको जेन–जी विद्रोह र त्यसपछि सिर्जित नयाँ परिदृश्यमा हुन गइरहेको २१ फागुनको आमनिर्वाचन नजिकिँदै गर्दा फेरि नयाँ र पुरानो शब्द जञ्जालले छोप्दै गएको छ। नयाँले पुरानालाई भ्रष्टाचार र बेथितिको विस्तार गर्ने बाहेक केही नगरेको आरोप लगाइरहेका छन् भने पुरानाले नयाँका दर्शन, सिद्धान्त तथा वैचारिक आधारबारे प्रश्न गरिरहेका छन्।
न दर्शन, न मुद्दा
दर्शन भनेको जीवन र जगतलाई हेर्ने दृष्टिकोण र व्यवहार हो। हाम्रा व्यवहारका तौरतरिकाहरू दर्शनबाट निर्देशित हुन्छन्। राजनीतिक दर्शन भनेको धर्म र राज्यको सम्बन्ध, शासक र जनताको सम्बन्ध र भूमिका, राज्यको संरचना, राजनीतिक दल, शासन प्रणाली, नेतृत्व चयन, राज्यका निर्देशक सिद्धान्त र नीतिहरूको मार्गदर्शन हो। साम्यवाद, समाजवाद, पुँजीवाद, लोकतन्त्र, गणतन्त्र, राजतन्त्र, अधिनायकवाद, सैन्यवाद, एकात्मक, संघीय, बहुलवाद वा अन्य वादमा आधारित कस्तो राज्य बनाउने, कस्तो प्रणालीलाई समर्थन गर्ने भन्ने कुरा उसले अंगीकार गरेको दर्शनले निर्धारण गर्छ।
मुद्दा भनेका तत्कालीन विषय र समस्या हुन्। तर कुनै पनि विषय मुद्दा हो कि होइन भन्ने कुरा बुझाइमा भर पर्छ। यसबारे व्यक्तिपिच्छे फरक–फरक दृष्टि र धारणा हुन सक्छन्। एउटै कुरा कसैका लागि सामान्य र कसैका लागि गम्भीर समस्या बन्न सक्छ। समस्याबारेको फरक बुझाइसँगै समाधानका उपाय र साधनबारे पनि भिन्न मत हुन सक्छ। विषयबारे समान धारणा राख्नेमा पनि समाधानमा फरक मत हुन सक्छ। बुझाइदेखि समाधानसम्ममा हाम्रो बुझाइलाई फरक पार्ने भनेकै दर्शनले हो। दल समान दर्शन भएका व्यक्तिहरूको संगठित समूह हो।
प्रदेश सभामा उम्मेदवार नउठाउने, मत नदिने, प्रदेश खारेज गर्ने पनि भन्ने अनि प्रदेशलाई शक्तिशाली बनाउँछौँ पनि भन्ने कुरामा घोर विरोधाभास छ।
हामीकहाँ पुराना भनिएका दलहरू खास खास राजनीतिक दर्शनका आधारमा गठन भएका छन्। जस्तो कि वामपन्थी दलहरूको मार्गदर्शन मार्क्सवाद, लेनिनवाद र माओवाद हो। पुष्पकमल दाहालले समेत माओवाद छाडिसके पनि केहीले यसलाई बोकिहिँडेकै छन्। उनीहरू सबैको दीर्घकालीन लक्ष्य समाजवाद हुँदै साम्यवाद हो।
नेपाली कांग्रेसलगायत लोकतान्त्रिक दलहरूको दर्शन बहुलवाद र उदारवाद हो भने लक्ष्य समाजवादसम्म मात्रै हो। कम्युनिस्टको समाजवादभन्दा भिन्न देखाउन कांग्रेसले लोकतान्त्रिक समाजवादलाई आफ्नो दर्शन मानेको छ। केही दलहरू धार्मिक राज्यको वकालत गरिरहका छन्। केही राजतन्त्र पुनःस्थापनाको कुरा गरिरहेका छन्, केही संघीयता खारेजी चाहिरहेका छन्।
आफूलाई नयाँ भन्नेहरूमा भने राजनीतिक–दार्शनिक आधार प्रस्ट छैन। प्रदेश सभामा उम्मेदवार नउठाउने, मत नदिने, प्रदेश खारेज गर्ने पनि भन्ने अनि प्रदेशलाई शक्तिशाली बनाउँछौँ पनि भन्ने कुरामा घोर विरोधाभास छ। पहिलो प्रदेश सभामा पेचिलो बनेको प्रदेश १ को नामकरण मुद्दामा नयाँ दाबी गर्ने दलले किन केही बोलेन ? राजतन्त्र कि गणतन्त्र, धर्मनिरपेक्ष कि हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित कार्यकारी भने पनि कार्यकारी राष्ट्रपति हो कि प्रधानमन्त्री स्पष्ट पारिरहेका छैनन्।
अरूलाई दृष्टिकोण, नीति नभएको देख्ने तर आफ्नो पनि नबताउने। हुँदाहुँदा कोही नयाँ त आफूले जितेमा आफ्नो नेतालाई घुमाउन ल्याउने वाचा गर्दै भोट मागिरहेका छन्। देश श्रमले बन्छ कि श्रमदानले बन्छ– यति पनि पत्तो नहुने नयाँ पनि छन्।
जसले चुनावपछि राज्यको बागडोर सम्हाल्ने भनिरहेका छन्, उनीहरू जितेर के गर्ने भन्नेमा घोर अलमलमा छन्। समृद्धि र भ्रष्टाचार नियन्त्रण अमूर्त कुरा हुन्। मूर्त कुरा त प्रक्रिया हो। कसरी देशलाई समृद्ध बनाउने हो, कसरी भ्रष्टाचार नियन्त्रण गर्ने ? के स्वयम् अनेकौँ काण्ड बोकेर हिँडेका व्यक्तिले सुशासन दिन सक्छन् ? दर्शन प्रस्ट नभएपछि गर्ने भनेकै चर्को स्वरमा बोल्नु, विपक्षीलाई व्यक्तिगत स्तरमा गाली गर्नु, सामाजिक सञ्जालमा पोत्नु हो।
चर्को राष्ट्रवाद घन्काउँदै विदेशीसँग आफ्ना सन्तानको भिसाका लागि चाकरी गर्नेहरू सबैखाले दर्शन बोकेकाहरूमा बराबरी छन्।
पुराना दलहरूसँग दर्शन छ तर दर्शन अनुसारको व्यवहार छैन। उनीहरू आधारभूत मानवीय आवश्यकताहरू राज्य नियन्त्रित हुने समाजवादले भरिएको दस्ताबेज बोक्छन् तर आफैँ निजी शिक्षण संस्था र अस्पताल चलाएर व्यापार गर्छन्। चर्को राष्ट्रवाद घन्काउँदै विदेशीसँग आफ्ना सन्तानको भिसाका लागि चाकरी गर्नेहरू सबैखाले दर्शन बोकेकाहरूमा बराबरी छन्। पहिल्यैदेखि जितेकाले यसपालि पनि जित्नुपर्ने हठबाहेक उनीहरूसँग बचेको केही छैन ।
कोही चोखो छैनन्
सत्य त के भने– न दर्शन न मुद्दा, न चोखो न बिटुलिएको, न नयाँ न पुरानो, २०७९ सालपछिका वर्षहरूमा सबैले मिलीजुली म्यादी सरकार बनाएकै हुन्। सबैले राज्य दोहन गरेकै हुन्। हरेक सरकारका धेरैजसो मन्त्रीले देश र जनताविरुद्ध साना–ठूला काण्ड गरेकै हुन्। त्यसबेला न पुरानाले नयाँको दर्शन खोजे न नयाँले पुराना बिग्रिएको देखे। यस्तो देखिन्छ कि एकले अर्कोलाई गाली गर्नुबाहेक उनीहरूसँग कुनै काम छैन। त्यसैले अहिलेसम्म पनि मै हुँ भन्नेसँग घोषणापत्र पनि छैन।
दर्शन नै नभएपछि, भएको दर्शन पनि बिर्सिएपछि राजनीतिमा लोकप्रियतावाद हावी हुँदो रहेछ। एउटा कलाकार, खेलाडी र राजनीतिकर्मीको लोकप्रियता एकैखाले हुँदैन। विश्वमा राजनीतिक लगानीबिनै कला, साहित्य, खेलकुदलगायतक अन्य क्षेत्रबाट प्राप्त लोकप्रियता भजाएर राजनीतिमा आउनेहरूले सत्ता थाम्न नसकेका धेरै उदाहरण छन्। कतिले त देशै सिध्याइदिएका छन्। तर, भीड त्यतैतिर गइरहेको छ। अरूको देखेरै सिक्ने कि आफैँ भोगेर चेत्ने ? छनोट हाम्रै हातमा छ।