जनकपुर। नेपाली कांग्रेसको मधेससभा जनकपुरमा हुने भएको छ। कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले आगामी ६ फागुनमा मधेस सभा जनकपुरमा आयोजना गर्ने निर्णय गरेको हो।
तिरुहुतिया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नीतेशकुमार गुप्ताले जानकारी दिए।
बैठकले सभाको प्रचारको जिम्मेवारी गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गरेको छ।
त्यसैगरी मधेस सभाको समग्र तयारी‚ व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेस प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागी बोलाउने निर्णय गरिएको छ।
सभामा कांग्रेस केन्द्रीय सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यस्तै केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने प्रचार विभाग प्रमुख गुप्ताले बताए।
कांग्रेसले सातै प्रदेशका मुख्य सहरमा सभा गरी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको प्रचार गर्ने भएको हो।