काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२५ माघ २०८२
अ+
अ-

काठमाडौं । नेपाली चलचित्र जगतका शिखर व्यक्तित्व तथा वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीरलाई अन्तिम संस्कार अघि पोस्टमार्टम गरिने भएको छ । शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा हृदयाघातका कारण निधन भएका थापाको परिवारले मृत्युको कारणबारे स्पष्ट हुन पोस्टमार्टमको माग गरेपछि यस्तो निर्णय लिइएको हो ।

लामो समयदेखि मुम्बईमा बसोबास गर्दै आएका थापाका परिवारका सदस्यहरू शनिबार राति १० बजे काठमाडौं आइपुगेका छन् । नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार परिवारको इच्छा बमोजिम आज (आइतबार) पोस्टमार्टम सम्पन्न भएपछि मात्रै अन्त्येष्टिको प्रक्रिया अगाडि बढाइनेछ । ‘मुम्बईबाट परिवारका सदस्यहरू आइपुग्नुभएको छ र उहाँहरूले पोस्टमार्टम गर्नुपर्ने इच्छा व्यक्त गर्नुभएको छ,’ अध्यक्ष निरौलाले भने, ‘आज पोस्टमार्टमको प्रक्रिया सकिएपछि मात्रै उहाँको अन्तिम बिदाइ गरिनेछ ।’

नेपाली चलचित्रमा ‘खलपात्र’ लाई पनि नायककै उचाइ र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले जनमानसमा लोकप्रिय थिए । ऐतिहासिक चलचित्र ‘चिनो’ मा निर्वाह गरेको ‘राते काइँला’ को भूमिकाले उनलाई नेपाली र भारतीय चलचित्र उद्योगमा स्थापित गरेको थियो ।

करिब तीन दशक लामो अभिनय यात्रामा उनले नेपाली र बलिउड गरी ३०० भन्दा बढी चलचित्रमा सशक्त अभिनय गरेका छन् । काठमाडौंको शंखमुलस्थित एक अपार्टमेन्टमा एक्लै बस्दै आएका ७० वर्षीय थापाको निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । थापाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने तयारी छ ।