आवरण
जनमत खिइँदै गएका दलहरू परिवर्तित परिस्थितिका कारण आफ्नै भूगोलमा असुरक्षित
प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरूको प्रचार अभियानले मधेस प्रदेशमा चुनावी तापक्रम बढाएको छ। जेन-जी आन्दोलनपछिको परिवर्तित परिस्थितिमा हुन लागेको चुनावमा परम्परागत शक्तिसँग नयाँ दलहरू र पाका नेतासँग युवा उम्मेदवारहरू टक्करमा उत्रिएका छन्। अर्कातिर, विगतमा ठूला दलहरूसमेत गठबन्धन गरेर चुनाव लड्ने गरेकामा यसपटक एक्लाएक्लै मैदानमा छन्। यो सबैले यसपटकको निर्वाचनमा मधेसको प्रतिस्पर्धालाई रोचक बनाएको छ।
नयाँ दल र स्वतन्त्र रूपमा उम्मेदवारी दिएकाहरूले पुराना दलको सिन्डिकेट तोड्ने नारा अगाडि सारेका छन्। पुराना दलहरू भने व्यवस्था, संविधान र गणतन्त्र रक्षाको नाममा मत मागिरहेका छन्।
मधेस प्रदेशका आठ जिल्लामा हरेक जिल्लामा चार चार क्षेत्र गरी ३२ निर्वाचन क्षेत्र छन्। यो प्रदेशभरि प्रत्यक्ष निर्वाचनतर्फ एक हजार २७ जना उम्मेदवार छन्। जसमध्ये स्वतन्त्र उम्मेदवार ५५४ जना छन्। प्रदेशमा मतदान गर्न योग्य मतदाता ३६ लाख ३६ हजार ४१४ जना छन्।
यस प्रदेशमा मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेस, एमालेजस्ता परम्परागत दलहरूलाई मधेसमा गुमेको पकड फिर्ता गराउनु छ भने रास्वपा, उज्यालो पार्टी नेपालसहितका नयाँ शक्तिहरूलाई मधेसमा आफूलाई स्थापित गराउने चुनौती छ।
यी पुराना र नयाँ दलको बीचमा छन्, मधेसकेन्द्रित दलहरू। निरन्तर टुटफुटका कारण मधेसमै खुम्चिँदै गएका मधेसकेन्द्रित दललाई आफ्नो आधारक्षेत्र जोगाउने चुनौती छ। तर, विगतमा मधेसको वास्तविक र परिवर्तनकारी शक्ति आफूहरू नै भएको दाबी गर्ने मधेसकेन्द्रित दलहरूलाई जेन-जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिले रक्षात्मक अवस्थामा पुर्याइदिएको छ। एकातिर यी दलहरूको चुनावी गतिविधि सशक्त देखिँदैन भने अर्कातिर उनीहरूको अजेन्डा पनि छैन।
यसै पनि फुट, सत्तामुखी चरित्रका कारण मधेसको जनाधार खस्किएर खिइँदै गएका मधेसकेन्द्रित दलहरूलाई बहुआयामिक असरले चुनावमा असुरक्षित अवस्थामा पुर्याएको छ। नयाँ राजनीतिक परिदृश्य, कांग्रेसमा विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनको प्रभाव र रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारमा बालेन्द्र शाह (बालेन)लाई अघि सारेपछि मधेसी युवामा देखिएको उत्साहका कारण यी दलहरू किनाराकृत अवस्थामा पुगेका छन्।
मधेसको मुद्दालाई सत्तामा जाने सिँढी मात्र बनाएका मधेसकेन्द्रित दलहरूको नेतृत्वप्रति मधेसका जनतामा रहेको अविश्वास जेन-जी आन्दोलनपछि वितृष्णामा बदलिएको मधेस मामिलाका जानकार तथा विगतमा लामो समय मधेसकेन्द्रित दलमा रहेर राजनीति गरेका भरतविमल यादव बताउँछन्। “मधेसकेन्द्रित दलहरूले विगतमा जसरी सत्ताकेन्द्रित राजनीति गरे, त्यसले मधेसी जनतामा उनीहरूको छवि नराम्रो बनायो,” उनी भन्छन्, “यी दलका नेतृत्वप्रति रहेको अविश्वास जेन-जी आन्दोलनपछि झनै बढ्यो र अहिले बालेन फ्याक्टरले त उनीहरूलाई रक्षात्मक अवस्थामा पुर्याएको छ।”
अहिले मधेसी जनताले मधेसकेन्द्रित दल र काठमाडौँकेन्द्रित ठूला दलका नेताहरूलाई एउटै भाँडोमा राखेर हेर्ने गरेको उनको भनाइ छ।
नयाँ लहरले थपेको कहर
मधेसकेन्द्रित दलहरूले मधेसको गरिबी, अशिक्षा र अविकास तथा काठमाडौँको सत्ताले गर्ने उपेक्षालाई राजनीतिक मुद्दा बनाउँदै आएका थिए। तर, त्रिशंकु संसद्का कारण सरकार बनाउने र ढलाउने क्रममा यी साना दलहरू निर्णायक बन्ने अवस्थाको फाइदा उनीहरूले भरपुर उपयोग गरे। पार्टी फुटाएर, गठबन्धन बदलेर भए पनि उनी सरकारमा दोहोरिइरहे। तर, मधेसको मुद्दामा काम नगरेपछि मधेसीको हकअधिकारको विषयलाई सत्तासँग साटेको भनेर उनीहरू स्थानीय जनतामाझ बदनाम भए।
पुर्ख्यौली थलो महोत्तरी भएका बालेन झापा क्षेत्र नम्बर ५ का उम्मेदवार भए पनि ‘मधेसका छोरा’ का रूपमा उनको ब्रान्डिङ गरिएको छ।
आफ्नै भूगोलमा अविश्वास भोग्दै आएका उनीहरू यसपटक नयाँ विकसित परिस्थितिका कारण अस्तित्व जोगाउने अवस्थामा पुगेका छन्। रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेनलाई अघि सारेपछि मधेसका युवाहरूमा उत्साहको लहर फैलिएको छ। रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको अघिल्लो दिन गत ५ माघमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको उद्घोषसभामा सबैको ध्यान बालेनमा केन्द्रित थियो।
पुर्ख्यौली थलो महोत्तरी भएका बालेन झापा क्षेत्र नम्बर ५ का उम्मेदवार भए पनि ‘मधेसका छोरा’ का रूपमा उनको ब्रान्डिङ गरिएको छ। मधेस प्रदेशमा उनीप्रतिको लहर यस्तो छ, यहाँका गाउँबस्तीमा ‘अबकी बार बालेन सरकार’ को नाराले व्यापकता पाएको छ। यसले बालेनमार्फत मधेसमा यसपटक रास्वपाको पक्षमा लहर बढाइरहेको छ।
पुराना दल र अनुहारहरूबाट मानिसहरू दिक्किएका बेला २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेपछि बालेन चर्चित भए। त्योसँगै संघीय राजधानी रहेको महानगरमै स्वतन्त्र रूपमा एउटा युवाको जितले राजनीतिमा युवा पुस्ताको सम्भावना देखाएर धेरैलाई ऊर्जा दियो। सञ्चारकर्म गरिरहेका रवि लामिछानेले त स्वतन्त्र नामबाटै पार्टी स्थापना गरे, जुन केही महिनाको तयारीपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा होमिएको थियो। जसमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २१ सिट जितेर राष्ट्रिय राजनीतिलाई तरंगित बनाएको थियो।
रास्वपाको त्यो पुरानो लहर र दलीय राजनीतिमा बालेनको आगमनले यसपटक मधेसमा तरंग ल्याएको छ। जसले गर्दा परम्परागत अन्य दलसँगै मधेसकेन्द्रित दलहरूलाई झस्काइरहेको छ। यी दलका नेताहरू चुनावी भाषणमा आफ्नो अजेन्डा मतदातासामु बताउनुभन्दा पनि बालेनविरुद्ध खनिने गरेका छन्। जसले उनीहरूको चुनावी राजनीतिमा ‘बालेन फ्याक्टर’ ले चुनौती दिइरहेको देखाउँछ।
गगन त विगतका चुनावमा जितिरहेको काठमाडौँ ४ छाडेर यसपटक मधेस प्रदेशकै सर्लाही ४ मा उम्मेदवार बनेका छन्।
अर्कातर्फ, जेन-जी आन्दोलनपछि पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको माग चर्किएको कांग्रेसमा विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ पदाधिकारी आएका छन्। कांग्रेसमा देखिएको यो बदलावले मधेसमा यो पार्टीप्रति खस्किएको जनमत पुनर्जागृत गराउन सक्ने सम्भावना छ। गगन त विगतका चुनावमा जितिरहेको काठमाडौँ ४ छाडेर यसपटक मधेस प्रदेशकै सर्लाही ४ मा उम्मेदवार बनेका छन्।
युवाहरूको बीचमा लोकप्रिय छवि बनाएका गगन र विश्वप्रकाश शर्माले पार्टीको नेतृत्व परिवर्तनमा खेलेको भूमिका देखेर कांग्रेसप्रति कतिपय मधेसी युवामा आकर्षण देखिएको छ। रास्वपाको प्रचार सामग्रीमा स्थानीय उम्मेदवारको तस्बिरमा बालेन र रविको पनि तस्बिर राखिने गरिएको छ भने कांग्रेसको प्रचार सामग्रीमा गगन र विश्वप्रकाशको तस्बिर राखिएको देखिन्छ। परिवर्तनको संवाहकका रूपमा आफूलाई उभ्याएका यी दुई पार्टीका कारण आफ्नै घरमा मधेसकेन्द्रित दलहरू दबाबमा परेका छन्। उनीहरू गगनभन्दा पनि बालेनप्रति बढी सशंकित छन्।
जसपा नेपालका महासचिव रामकुमार शर्मा विगतमा रास्वपाले संघीयताप्रति प्रतिबद्धता नदेखाएका कारण मधेसीको नाममा भोट लिएर संघीयता र मधेसको विपक्षमा जाने हो कि भन्ने आशंका रहेको बताउँछन्।

सर्लाही ४ मा कार्यकर्तामाझ कांग्रेस सभापति गगन थापा।
मधेस प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष सोहन साहले मधेसकेन्द्रित दलहरू सत्तामा हुँदा र विपक्षमा हुँदा फरक रूपमा प्रस्तुत हुने गरेको र नेतृत्व विकाससमेत नभएका कारण जनमत बढाउनुको साटो भएकैलाई जोगाउन नसकेको टिप्पणी गर्छन्। भन्छन्, “यी दलहरूमा मधेसको आशा र विश्वास जित्न सक्ने खालको नेतृत्वको विकास नै भएन, जसले गर्दा मधेसका युवाहरूमा निराशा व्याप्त छ।”
मधेसकेन्द्रित दलका नेताहरू चुनावी मैदानमा जान कति भयभीत छन् भन्ने केही दृष्टान्त हेर्न सकिन्छ। लामो समय राजनीति गरेका, आदर्शवादी नेता मानिने, पटक पटक सांसद र मन्त्री बनेका महन्थ ठाकुर पनि यसपटक निर्वाचनमा मधेसका जनताप्रति ढुक्क हुन सकेनन्। उनले आफू नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई चुनावको मुखैमा जसपामा समाहित गराए। जसपासँग पार्टी एकीकरण गरेपछि पनि महन्थले प्रत्यक्षमा चुनाव लड्ने आँट गरेनन्। उनले पदमा जाने सुरक्षित बाटो रोजे। गत ११ माघमा भएको राष्ट्रिय सभा चुनावमा उनी जसपा, कांग्रेस, एमाले, जनमत पार्टीको गठबन्धनबाट उम्मेदवार बने, र सांसद निर्वाचित पनि भए।
विगतका दुई निर्वाचन र यो चुनाव
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रत्यक्षतर्फ मधेसका ३२ क्षेत्रमध्ये १९ स्थान जितेका थिए। चुनावी गठबन्धन गरेका यी दुई दलमध्ये राजपाले १० सिट र फोरमले नौ सिट जितेका थिए। २०७२ सालमा नयाँ संविधान जारी भएपछि त्यसविरुद्ध मधेसमा बढेको असन्तुष्टि २०७४ सालको चुनावमा काठमाडौँकेन्द्रित ठूला दलप्रति पोखिँदा यसको लाभ मधेसकेन्द्रित दलहरूले बटुलेका थिए।
मधेसका बाँकी १३ क्षेत्रमध्ये कांग्रेसले ६, माओवादी केन्द्रले पाँच र एमालेले दुई स्थान जितेका थिए। उक्त निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए।
२०७९ सालको चुनावमा भने मधेसमा एमाले र कांग्रेसले आफ्नो स्थिति सुधार्दै मधेसकेन्द्रित दलहरूलाई पछि पारे। मधेसका ३२ क्षेत्रमध्ये एमालेले नौ स्थान जितेको थियो भने कांग्रेसले सात। यस्तै, जसपा अर्थात् पहिलेको संघीय समाजवादी फोरमले ६ स्थान, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तीन, स्वतन्त्र उम्मेदवारले तीन, नेकपा (एकीकृत समाजवादी)ले दुई तथा माओवादी केन्द्र र जनमत पार्टीले एक एक स्थान जितेका थिए। उक्त चुनावमा देशभर कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित पाँच दलको गठबन्धन थियो भने मधेस प्रदेशमा एमालेले जसपा र लोसपासँग गठबन्धन गरेको थियो।
यसपालि चुनाव नउठेकामध्ये कतिपयले आफ्नो क्षेत्रमा नातागोतालाई टिकट दिएका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जितेका ३२ जनामध्ये आसन्न चुनावमा २८ जना उम्मेदवार छन्। केहीले पहिले अन्य दलबाट उठेर जितेकामा यसपालि पार्टी परिवर्तन गरेर उम्मेदवारी दिएका छन्। केहीले आफ्नो निर्वाचन क्षेत्र नै परिवर्तन गरेका छन्।
यसपालि चुनाव नउठेकामध्ये कतिपयले आफ्नो क्षेत्रमा नातागोतालाई टिकट दिएका छन्। २०७९ सालमा नवलकिशोर साह सुडीले जसपा नेपालबाट जितेको क्षेत्र सप्तरी १ मा यसपालि उनका छोरा सुमितकुमार स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका छन्। त्यसैगरी, २०७९ सालमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग दोब्बरभन्दा बढी मतले पराजित उपेन्द्र यादव यसपटक सप्तरी ३ मा उम्मेदवार बनेका छन्। २०८० सालको प्रतिनिधिसभा उपनिर्वाचनमा पाँच दलको साझा उम्मेदवार बनेका उपेन्द्र बारा २ बाट निर्वाचित भएका थिए। जसपा नेपालका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त निर्वाचन क्षेत्र रिक्त भएको थियो।
त्यसैगरी, सिरहा २ बाट निर्वाचित जसपा नेपालका राजकिशोर यादव यसपटक क्षेत्र परिवर्तन गरेर सिरहा ४ मा पुगेका छन्। सिरहा ४ मा एमालेका धर्मनाथप्रसाद साह, कांग्रेसकी चन्द्रकलाकुमारी यादव, नेकपाका अजयशंकर नायक र रास्वपाका तपेश्वर यादव उम्मेदवार छन्। धर्मनाथ उम्मेदवारी दर्ताको एक दिनअघि नेकपा त्यागेर एमाले प्रवेश गरेका थिए। २०७९ सालको निर्वाचनमा जसपाबाट निर्वाचित वीरेन्द्र महतो यसपटक पार्टी परिवर्तन गरेर जनमत पार्टीका उम्मेदवार बनेका छन्।
२०७९ सालको चुनावमा महन्थ ठाकुरले जितेको महोत्तरी ३ मा यसपटक उनकी छोरी मिनाक्षी ठाकुर जसपाबाट उम्मेदवार बनेकी छन्। त्यस्तै, धनुषा २ बाट कांग्रेसको टिकटमा निर्वाचित रामकृष्ण यादवले यसपटक टिकट पाएनन्। उनको स्थानमा दिनेश परसैलाले उम्मेदवारी दिएका छन्। सर्लाही ४ बाट स्वतन्त्र रूपमा निर्वाचित अमरेशकुमार सिंह यसपालि रास्वपामा प्रवेश गरेर सोही पार्टीबाट उम्मेदवार बनेका छन्।

कार्यकर्तासँग घरदैलोमा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह।
रौतहट २ बाट पछिल्लो निर्वाचनमा स्वतन्त्रबाट जितेका किरणकुमार साह यसपटक नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन्। पछिल्लो निर्वाचनमा रौतहट ३ बाट स्वतन्त्र रूपमा जितेका प्रभु साह भने यसपालि आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेर निर्वाचनमा होमिएका छन्। त्यस्तै, यसअघि पर्सा १ मा जसपाबाट उठेर जितेका प्रदीप यादव पार्टी परिवर्तन गरेर यसपटक एमालेबाट उम्मेदवार बनेका छन्।
रोचक प्रतिस्पर्धाका यी क्षेत्र
२१ फागुनमा हुने निर्वाचनमा मधेस प्रदेशका केही जिल्लामा निकै रोचक प्रतिस्पर्धा हुने देखिन्छ।
पछिल्ला दुई निर्वाचनमा सर्लाही ४ बाट निर्वाचित अमरेशकुमार सिंहलाई चुनौती दिन कांग्रेस सभापति गगन मैदानमा छन्। कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका उनको जित र हार सुधारिएको भनिएको पार्टीकै लागि प्रतिष्ठाको विषय र उनको नेतृत्वप्रतिको विश्वासको परीक्षण बन्नेछ। यस्तै, अमरेश रास्वपामा बालेनको प्रवेश र मधेसमा देखिएको लहरले जितका लागि आशावादी छन्।
सप्तरी २ मा पछिल्लो निर्वाचन जितेका जनमत पार्टीका अध्यक्ष सीके राउत यसपटक आफ्नै पूर्वसहकर्मीको चुनौतीबाट घेरिएका छन्। २०७९ सालमा जनमत पार्टीबाट प्रदेशसभामा निर्वाचित भएर मधेस प्रदेशका मुख्यमन्त्रीसमेत बनेका सतिशकुमार सिंह प्रदेशसभा सदस्यबाट राजीनामा दिएर स्वाभिमान पार्टीबाट उक्त क्षेत्रमा उम्मेदवार बनेका छन्। त्यस्तै, जनमत पार्टी छाडेर जनअधिकार पार्टी गठन गरेका शरदसिंह यादव पनि सप्तरी २ कै उम्मेदवार बनेका छन्।
महोत्तरी २ मा पटक पटक जित्दै आएका शरतसिंह भण्डारी यसपटक पनि यही क्षेत्रमा जसपा नेपालबाट उम्मेदवार छन्। त्यस क्षेत्रमा उनको मुख्य प्रतिस्पर्धा कांग्रेसकी किरणकुमारी यादवसँग हुनेछ। उनी प्रथम राष्ट्रपति रामवरण यादवकी भतिजी हुन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी।
२०७९ सालको चुनावमा एमालेबाट धनुषा ३ मा जितेकी जुलीकुमारी महतो र धनुषा ४ बाट निर्वाचित रघुवीर महासेठ आसन्न चुनावमा तिनै क्षेत्रमा उठेका छन्।
त्यसैगरी, सर्लाही २ मा यसपटक पनि दुई परम्परागत प्रतिद्वन्द्वी मैदानमा छन्। यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट महेन्द्र राय यादव उम्मेदवार छन् भने राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो उम्मेदवार हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यादवले सर्लाही २ मै महतोलाई पराजित गरेका थिए। २०७४ सालको चुनावमा भने महतो सर्लाही ४ को आफ्नो क्षेत्र छाडेर धनुषा ३ मा उम्मेदवार बनेका थिए र निर्वाचित पनि भएका थिए। सर्लाही २ मा यादव र महतोसँगै एमालेका नागेश्वर साह, कांग्रेसका सरोज कुमार र रास्वपाबाट रविन महतो, जसपाबाट भरत चौधरीसहित ३१ जना उम्मेदवार छन्।
२०७९ सालको चुनावमा एमालेबाट धनुषा ३ मा जितेकी जुलीकुमारी महतो र धनुषा ४ बाट निर्वाचित रघुवीर महासेठ आसन्न चुनावमा तिनै क्षेत्रमा उठेका छन्। जुलीलाई कांग्रेसका विमलेन्द्र निधि र रास्वपाका मनीष झाले चुनौती दिएका छन्। यस्तै, महासेठका प्रतिस्पर्धीमा कांग्रेसका महेन्द्र यादव, नेकपाका सञ्जयकुमार महतो र रास्वपाका राजकिशोर महतो छन्।
त्यसैगरी, सर्लाही ३ मा राष्ट्रिय सभा छाडेर नेकपाका नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। उक्त क्षेत्रमा २०७९ सालमा सांसद निर्वाचित एमालेका हरि उप्रेती यसपटक पनि उम्मेदवार छन्। यस्तै, रास्वपाका नागेन्द्र झा पनि प्रतिस्पर्धामा छन्।
उता, रौतहट १ मा नेकपाका सहसंयोजक माधव नेपाल उम्मेदवार छन्। उक्त क्षेत्रमा एमालेले गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्तालाई र कांग्रेसले अनिलकुमार झालाई उम्मेदवार बनाएको छ। मधेसकेन्द्रित दलबाट राजनीति सुरु गरेका झा जितको सम्भावना खोज्दै कांग्रेसबाट उम्मेदवार बनेका हुन्।